‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ खोटाङका शिक्षक हेमबिक्रम राईलाई प्रदान गरिएको छ । शिक्षा, कला, साहित्य, संस्कृति र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शिक्षक राईलाई १० हजार राशीको ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।
सहिद मनोज जोशीको ३२ औं स्मृति दिवसको अवसरमा सोमबार दिक्तेलको अस्पतालचोकस्थित जोशीको समाधिस्थलमा आयोजित माल्यार्पण एवं श्रद्धाञ्जलीसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ) ले शिक्षक राईलाई दोसल्ला ओढाएर नगद सहित सम्मान–पत्र हस्तान्तरण गर्नुभयो ।
सहिद जोशीको नाममा स्थापना गरिएको प्रतिभा पुरस्कार यस वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका शिक्षक राईलाई प्रदान गरिएको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।
शिक्षण पेशामा प्रवेश गर्नुअघि तत्कालिन जिल्ला विकास समितिको अस्थायी मुखिया पदमा कार्यरत राई २०४८ सालको कर्मचारी आन्दोलनमा सहभागी भएकामा जागिरबाट बर्खास्त हुनुभएको थियो । उहाँ सहिद जोशीसँगै इन्द्रेणी साँस्कृतिक समाजमा पनि आवद्ध हुनुहुन्थ्यो ।
प्रतिक्रिया