काठमाडौं, बिहीबार ज्यान गुमाएका बालगायक सचिन परियारको आँखा दान गर्न नमिलेसँगै आज दाहसंस्कार गरिएको छ। बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए। आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने आफ्नो चाहना रहेको तेजेन्द्रले बताएका थिए।
तर, आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि दान गर्न नमिल्ने बताएका थिए। सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको चिकित्सकको निष्कर्षसँगै उक्त प्रक्रिया रोकिएको हो।
सचिनको पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज दाहसंस्कार गरिएको छ। उनको शव बिहीबार नै पशुपति पुर्याइए पनि आफन्तको पर्खाइमा आज दाहसंस्कार गरिएको हो। लामो समयदेखि अस्वस्थ सचिन महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत थिए। उनको उपचारकै क्रममा हिजो बिहान १० बजे निधन भएको थियो।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका थुप्रै गीत समाजिक सञ्जालमा भाइरल छन्। सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्। ‘रातो रबर एक’,‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।
प्रतिक्रिया