गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । दृश्य यसप्रकार छ– कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छेहरू भेला भएका छन् ।
उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ। ती व्यक्तिहरूले गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।
नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ। यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो ।
स्थानीय पत्रकार डम्बरबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । बीसीका अनुसार सो घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेको हो। स्थानीय साउने सार्की नामक व्यक्ति मृत्यु भएपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले यस्तो हर्कत गरेका थिए ।
परम्पराको नाममा बाजुरामा पहिलेदेखि नै यस्ता कृत्य हुँदै आएको बीसी बताउँछन्। गाउँमा कसैको मृत्यु भएपछि नदीमा डुबाएर गौदान दिने गरिन्छ’ उनी भन्छन्, ‘यसरी गौदान गर्दा पापमुक्त हुने अन्धविश्वास छ ।’ यो प्रथा राम्रो होइन भनेर आवाज उठाएपनि गाउँलेहरूले टेरपुच्छर नलगाएको उनी बताउँछन् ।
एउटा अवोध पशुलाई नदीमा डुबाउँदा पाप कटिदैन भनेर हामीले आवाज उठाइरहेका छौं’ उनी भन्छन्, ‘तर कसैले पनि यो कुरा सुन्ने र बुझ्ने प्रयास गरेका छैनन् । त्यसैले वर्षौदेखि यो कुप्रथा जारी छ । यसबारे हामीले जगनाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीसँग बुझ्दा उनले यस घटनाबारे जानकारी नभएको बताए ।
यो घटनाबारे मलाई केही पनि थाहा छैन’ शाहीले भने, ‘यो परम्परा उहिलेदेखि चलेको हो । बीचमा रोकिएको थियो । अहिले फेरि सुरु भएछ, मलाई थाहै भएन । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले भने यस किसिमको कृत्य रोक्ने प्रयास गरिरहेको जानकारी दिए ।
यो कुप्रथा रोक्नका लागि हामी निरन्तर प्रयासमा छौं ‘ पाध्य भन्छन्, ‘यसो गर्न हुँदैन भनी जनचेतना फैलाउने काम व्यापक रुपमा भइरहेको छ । गौदानको नाममा जिउँदै गाईलाई नदीमा लखेटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो धर्म र परम्परा नभई अन्धविश्वास र अपराध भएको अधिकांशले टिप्पणी गरेका छन् । – अनलाइनखबरबाट साभार
प्रतिक्रिया