अफगानिस्तानलाई तालिबानीले नियन्त्रणमा लिएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले सुरुआत गरेको छ । अफगानिस्तानको राजधानी काबुलबाट चार्टर्ड उडान गरी आज ११८ नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याएको परराष्ट्र मन्त्रालयले ट्विटमार्फत जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाडौं आइपुगेको अधिकारीहरूले बताउनुभयो।
उनीहरूलाई अहिले नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेको बताइन्छ।
त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा अधिकांश मलिन र त्रसित अनुहारमा देखिएका थिए । उनीहरूले आफूहरू सुरक्षित फर्केको र अरु नेपालीलाई पनि छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । सरकारले त्यहाँ रहेका नेपाललाई सकुशल उद्धारका लागि समन्वयात्मक ढङ्गले काम गर्न आफ्ना मातहतका निकायलाई निर्देश गरिसकेको छ । सोमबार भएको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको थियो ।
अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको थियो । परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहनुभएको छ ।
उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ ।
https://www.youtube.com/watch?v=rUGxx09Ydm0&t=8s
प्रतिक्रिया