Uncategorized

उदघाटन खेलमै पाहुना टिम भुटानलाई पछि पार्दै माङ्सेबुङ बिजयी,आज तिजोक र धनकुटा भिड्ने



 

९ मंसिर, माङ्सेबुङ

 

किरात धर्मगुरु आत्मानन्द लिङ्देन जन्मजयन्तीको अवसरमा आयोजित आत्मानन्द कप २०८० को खेल सुरु भएको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हिजो शुक्रबार  भएको उद्घाटन खेलमा पाहुना टिम बिवाईसी भुटान बिरुद्व १-० गोल ले पछि पार्दै माङ्सेबुङले बिजयी सुरुवात गरेको छ। घरेलु दर्शकको हुटिङले रोचक बनेको खेल माङसेबुङले सुरुवात देखी नै आक्रामक खेलेको थियो। खेलको १५औं मिनेटमा  ओसन राईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

खेलको दोश्रो दिन अर्थात आज  शनिबार तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच दिनको २:३० बजे प्रतिष्पर्धा हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका  सचिव सरिता राईले बताइन ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना महान सेवा समारोह खेलकुद कार्यक्रम अन्तर्गत सञ्चालन भईरहेको आत्मानन्द कपको फाईनल खेल मंसिर १७ गते हुनेछ ।

 

यसपटक प्रतियोगितामा माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान सहभागी छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत सञ्चालन हुनेछ ।

आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : ९ मंसिर २०८०, शनिबार ००:००