गृह पृष्ठ

थुलुङ दुधकोशीले ल्यायो ६० करोड बढीको बजेट



सोलुखुम्बु-उत्पादनलाई जोड दिदै थुलुङ दुधकोशी गाउँपालिकाले करिब रु.६१ करोड बजेट ल्याएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको दोश्रो गाउँसभाको पाँचौ अधिवेशनमा रु.६० करोड ६० लाख २८ हजार बजेट पेश भएको छ ।

जसमा नेपाल सरकार वित्तिय समानिकरण अनुदान रु.१२ करोड २८ लाख र प्रदेश सरकार रु.७८ लाख ९ हजार गरि जम्मा १३ करोड ६ लाख ९ हजार रहेको छ । यस्तै सशर्त अनुदान रु.३३ करोड ४७ लाख ४७ हजारमा नेपाल सरकारको रु.३२ करोड ३२ लाख र प्रदेश सरकारको रु.१ करोड १५ लाख ४७ हजार रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल सरकारको विषेश अनुदान रु. १ करोड २५ लाख, राजश्व बाडफाडमा संघीय सरकार र प्रदेश सरकारको जम्मा रु.९ करोड २० लाख ७८ हजार रहेको छ । पालिका उपाध्यक्ष सविता राईले पेश गर्नुभएको उक्त बजेट गाउँसभाबाट पारित भएको छ ।

नीति तथा कार्यक्रममा उत्पादनलाई जोड

प्रवर्द्धन तथा वजारीकरण कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता राखिएको गाउँपालिकाले जनाएको छ ।

“स्वस्थ्य नागरिक– समुन्नत पालिका” भन्ने मूल नाराको साथ नागरिकलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिलाई निरन्तरता दिदै गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा द्रूत गतिको इन्टरनेटको व्यवस्था गरी स्वास्थ्य कर्मीहरुले दुधकोशी अस्पताल लगायतका विभिन्न विशेषज्ञहरुसँग प्रत्यक्ष परामर्श (टेलिमेडिसिन) गरी विशेषज्ञ सेवा प्रदान गर्ने बताइएको छ ।

चालु आ.व.मा सम्झौता भई कार्यान्वयन सुरु भएको योजनाहरुलाई सम्पन्‍न गर्न प्राथमिकताका साथ वजेटको व्यवस्था गरिने, गाउँपालिकाबाट जारी गरिएको श्वेतपत्र अक्षरस पालना गरी गराई शैक्षिक सुधार वर्ष घोषणा गर्ने र विद्यालयलाई प्रविधिमैत्री बनाउन ई हाजिरी¸ इमेल¸ इन्टरनेट माध्यमको व्यवस्था गरी प्रत्येक विद्यालयमा एकजना आइटी फोकल शिक्षकको व्यवस्था गर्ने नीति रहेको छ ।

कृषि र पर्या-पर्यटनको लागि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिने

गाउँपालिकालाई कृषि र पर्या-पर्यटनको लागि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा विकसित गर्दै सुकेपोखरी क्षेत्रलाई सांस्कृतिक तथा पर्यापर्यटनको लागि विस्तार र प्रचार गर्दै लाने र भने जालिम पोखरी क्षेत्रलाई धार्मिक पर्यटनका साथमा मुन्दुम ट्रेलसँग अन्तर सम्बन्धित बनाउन समन्वय गर्ने नीति पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै, डाँडाखर्क¸ घुम्नेपानी क्षेत्रको पर्यटनसम्बन्धी गुरुयोजना निर्माण गरी कार्यक्रम लागु गर्ने, थुलुङ राई, शेर्पा, तामाङ, क्षेत्री–ब्राह्मण, मगर, नेवार, गुरुङ¸ माझी¸ जोगी¸ दलित समुदाय आदिको मौलिक संस्कृति र संस्कारको सम्वर्धन एवं प्रबर्द्धन गरी उपयुक्त स्थानमा विशाल सांस्कृतिक पुरातात्विक संग्रहालय निर्माण गरी पर्यटकको ध्यान आकर्षित कार्यक्रम रहेको बताइएको छ ।

एक घर एक धारा प्रत्येक घरमा स्वस्थ खानेपानीको अवधारणा सहित खानेपानी वोर्डबाट आवश्यक कार्य अगाडी बढाउने, ग्राभिटीमा आधारित खानेपानी मूहानको समस्या हुने गाउँपालिकाको पन्चन¸ देउसा तथा जुबुमा लिफ्टिङमा आधारित खानेपानी आयोजना संचालन गरिने बताइएको छ ।

एकल महिला र जेष्ठ नागरिकलाई नि:शुल्क सेवा

७० वर्षभन्दा माथिका एकल महिलाहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा नि:शुल्क उपलब्ध गराउने बताइएको छ । गाउँपालिका र वडाहरुलाई वालमैत्री घोषणा गर्नको लागि आवश्यक तयारी थालनी गर्ने उल्लेख गरिएको छ ।

यस्तै, गाउँपालिकामा एक वटा ज्येष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी संचालन गरिनेछ । ८० वर्षभन्दा माथिको जेष्ठ नागरिकहरुलाई गाउँपालिका र वडा कार्यालयहरुबाट सिफारिस दिदा नि:शुल्क उपलब्ध गराउने भएको छ ।

मृतक नागरिकलाई सलामीदेखि आर्थिक सहयोग सम्म

गाउँपालिका भित्र भएका नागरिकहरुको मृत्यु भएमा गाउँपालिकाको गाउँप्रहरीद्वारा सलामी अर्पण गरी समवेदना पत्र सहित आर्थिक सहयोग गरिने कार्यक्रम रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यापकलाई भत्ता बढेको छ । यस अघि माध्यमिक तहको प्रधानाध्यापकले मासिक १ हजार भत्ता प्राप्त गर्दै आएका थिए भने अब उनिहरुले मासिक २ हजार प्राप्त गर्नेछन । यस्तै आधारभुत तह १-८ ले १ हजार ५ सय र १-५ ले १ हजार मासिक भत्ता प्राप्त गर्नेछन ।

प्रकाशित : १३ असार २०८१, बुधबार ००:००