खोटाङ, किरात राई यायोक्खाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतिमा लगायतका संरचना असुरक्षित रहेको पाइएको छ । हालै केही अज्ञात व्यक्तिहरुले रैछाकुलेको प्रतिमा उभ्याइएको जमिनको पिलरलाई तोडफोड गर्ने प्रयास गरेका छन् ।
रैछाकुले किरात राईहरुको आदिम मानव हुन् । यायोक्खाले सो स्थानमा रैछाकुलेको साथै आदिम किराती चेली मानिने ‘तयामा’ र ‘खियामा’को प्रतिमा निर्माण गरेको थियो । हाल रैछाकुलेको प्रतिमामाथि क्षति पुर्याउने प्रयास गरिनुका साथै तयामा खियामाको सूचनापाटी भत्काउने लगायत गलत काम गरिएको पाइएको छ ।
तर, उक्त गलत कार्य कसले गरे ? भन्ने हालसम्म खुलेको छैन । तयामा र खियामाको प्रतिमा भने सुरक्षित छ । यायोक्खाले तुवाचुङको भौतिक संरचनाको क्षति गर्नेको खोजी गरी कारवाही गर्नुपर्ने जनाएको छ । यो अशोभनीय, असभ्य र कुनै पनि सांस्कृतिक सम्पदाको संरक्षण जसरी गर्नुपथ्र्यो त्यसको विरुद्धको हर्कत हुनसक्छ, यायोक्खाका महासचिव जनक राईले भने, ‘अब स्थानीय स्तरबाटै त्यस्तो काम गर्ने मान्छेको खोजी गरी पहिचान गर्नुपर्छ ।
यसका लागि तुवाचुङ संरक्षण समिति र यायोक्खा जिल्ला समितिबाटै खोजी गर्ने र कम्तीमा पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, होइन भने अरु पनि तोडफोड गर्न सक्छ । यायोक्खाले ५५ लाख रुपैयाँ भन्दा बढी खर्च गरी २०७४ मंसिर २ गते तुवाचुङमा तयामा, खियामा र रैछाकुलेको प्रतिमा निर्माण गरेको थियो ।
तुवाचुङ किरातीहरुको ऐतिहासिक तथा सांस्कृतिक स्थल हो । सो स्थानलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी अन्य भौतिक संरचनाहरु समेत निर्माण गरिएको थियो । सो क्षेत्रको संरक्षण र विकासका लागि तुवाचुङ जायमुज समितिसमेत कायम रहेको छ । तुवाचुङलाई सांस्कृतिक स्थलको रुपमा विकास गर्ने प्रयास गरिरहेका बेला हाल त्यहाँका भौतिक संरचनाहरु असुरक्षित रहेको देखिएको छ ।
प्रतिक्रिया