सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ३ पन्चन क्षेत्रका किसान बाँदर आतंकका कारण हैरान भएका छन् । पाक्न लागेको धान बाली खेतमै बाँदरले सखाप बनाएपछि सो क्षेत्रका किसान चिन्तित बनेका छन् । किसानले मेहनत गरि लगाएको खेती जंगलबाट आएका बाँदरले छिनभरमै सोतर बनाउन थालेपछि किसानमा रुवाबासी नै चलेको छ ।
दिनभर खेतमा रुगेर बस्दा समेत झुक्याएर सयौँको संख्यामा आउने बाँदरले धान बाली खेतमै सखाप बनाउने गरेको अम्बाबोटका किसान पुन्य प्रसाद कोइरालाले गुनासो गर्नुभयो । भात, खाजा खाने समय समेत नभनी खेत बारीमै समय विताउने गरेपनि आँखा छलेर आउने बाँदरले बाली नष्ट गर्ने गरेको उहाँको भनाई छ ।
वर्षभर घाम, पानी, भोक, तिर्खा नभनी लगाएको खेती आँखै अगाडी जंगली जिवजन्तुले सखाप बनाउँदा बारीमै रुवाबासी चलेको कोइरालाले बताउनुभयो । बाँदर आतंकका कारण बिहान बेलुका खाना पकाउने समयलाई समेत कटाएर बारीमै चिउरा खाँदै बस्नुपर्ने बाध्यता रहेको अर्का किसान केशव प्रसाद कोइरालाको गुनासो छ ।
जंगलबाट सयौँको संख्यामा आउने बाँदरले लगाएको अन्नबाली बारीमै सखाप बनाएपछि खेती गर्ने जाँगर समेत मर्दै गएको उहाँको भनाई छ । किसानको समस्या विकराल बन्दै गएकाले स्थानीय सरकारले बाली बीमाको अवधारणालाई जोड दिनुपर्ने जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले बताउनुभयो ।
किसानले सबै भन्दा बढी दुःख र मेहनत गर्ने र उनीहरु नै सबै भन्दा बढी हरेक समस्याको भुमरीमा फस्ने गरेको उहाँको भनाई छ । थुलुङ दुधकोशी गाउँपालिका ३ का वडाध्यक्ष इन्द्रमणी दाहालले वडा र पालिका स्तरबाट भन्दा पनि निति निर्माण गर्ने तहबाटै बाँदर नियन्त्रणको विधि सोच्नुपर्ने बताउनुभयो ।
स्थानीय तहबाट क्षतिपुर्तीको व्यवस्था गरि क्षणिक समस्या समाधान भएपनि यसले दिगो रुपमा समाधान गर्न नसक्ने उहाँको तर्क छ । यता डिभिजन वन कार्यालय सोलुखुम्बुका निमित्त डिभिजनल वन अधिकृत मनराज राईले क्षति भएको बालीको मुचुल्काको आधारमा कार्यालयले क्षतिपुर्ती बापतको रकम प्रदान गर्ने बताउनुभयो । जसका लागि आफुहरुले बढीमा १० हजार सम्म राहत रकम प्रदान गर्न सक्ने बताउनुभएको छ ।
प्रतिक्रिया