गृह पृष्ठ

प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग


१३ कार्तिक २०८१, मंगलबार ००:००


काठमाडौँ, सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् । निषेधित क्षेत्र नजिक भेला भएका नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग गरेका छन् ।

पार्टीको आफ्नै झन्डा भएपनि नेता कार्यकर्ता राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका छन् । उनीहरूले आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेकाले धरपकडको विरोध समेत गरेका छन् । मंगलबार प्रदर्शन सुरु हुनासाथ प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको थियो ।

सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सभापति पक्राउ परेसँगै रास्वपाले कात्तिक २ देखि नै प्रदर्शन गर्दै आएको छ । सुरुमा पोखरामा प्रदर्शन गरेको रास्वपा अहिले काठमाडौँ केन्द्रित भएको छ ।

याे पनि पढनुहाेसः

काठमाडौँ, सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ । रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँग सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले दिनभर साढे ८ घण्टा बयान लिएका थिए ।

लामिछानेको बयान नसकिएको र मंगलबार पनि निरन्तर बयान लिइने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन । ती अधिकृतले भने, ‘बयान सकिएको छैन, आज पनि निरन्तर बयान लिन्छौँ । लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् ।

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् । अहिलेसम्मको बयानमा पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले सूर्यदर्शनबाट ऋण लिएको तथ्य अस्वीकार गरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर–५ मा सञ्चालित सूर्यदर्शन सहकारीको सेयर सदस्य र ऋणी आफू नरहेको जिकिर गर्दै लामिछानेले भनेका छन्, ‘सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिइन् ।

प्रकाशित : १३ कार्तिक २०८१, मंगलबार ००:००