नेपाली कांग्रेस जिल्ला कार्यालय समिति सोलुखुम्बुले एक हप्ता सम्म पार्टीको झण्डा झुकाउने र पार्टी कार्यालय पुर्ण रुपमा बन्द गर्ने भएको छ । पार्टीका सस्थापक जिल्ला सभापति तथा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन प्रति आज शनिबार शोक वक्तव्य जारी गर्दैै एक हप्ता झण्डा झुकाउने र पार्टी कार्यालय बन्द गर्ने बताएको हो ।
साथै १३ औँ दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राखिने जनाएको छ । पार्टीका जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा कांग्रेस सोलुका संस्थापक सभापति, पुर्व आमन्त्रित केन्द्रीय सदस्य, लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर, लेखक, साहित्यकार एवं संविधानसभा सदस्य नेता बस्नेतको निधनले सोलुखुम्बु जिल्ला मात्र नभएर सिंगो मुलुकले एक बहुआयमिक व्यक्तित्व गुमाएको उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको शुक्रबार बिहान काठमाडौंमा ७८ वर्षको उमेरमा निधन भएको थियो । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।