विभिन्न एजेण्डा सहित कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने कांग्रेसम मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा साउन २०–३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो ।

कांग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो । यस्तै कांग्रेसले भदौ २४ र २५ तथा असोज ३ गते भव्यताका साथ बीपी साहित्य महोत्सव बनाएको थियो ।

यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४ औं महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ ।

कांग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रुपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने ती पदाधिकारीले रातोपाटीलाई बताए ।

ती पदाधिकारीका अनुसार केन्द्रीय समिति बैठक पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा उभिने छ । नेता शेखर कोइरालाले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । ‘केही नेताहरुले सरकारको विकल्पको कुरा गरेपनि बैठक प्रचण्ड सरकारको निरन्तरताकै पक्षमा उभिन्छ ,’ उनले भने ।