सोलुको वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु अब काठमाण्डौमै

नेपाली कांग्रेस तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा आजबाट काठमाण्डौमा वडाबासीहरुलाई वडा कार्यालयबाट प्रदान गरिने सेवाहरु दिइएको छ ।
तिङ्ला काठमाण्डौ सम्पर्क समितिको पहलमा स्थानिय जनप्रतिनिधि सहित काठमाण्डौको कोटेश्वर भाटभटिनीसँगै रहेको ड्रीम हाउस इन्जिनियरिङ कन्स्लटेन्सीको कार्यालयबाट सेवा प्रवाह गरिरहेको सम्पर्क समितिका अध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभएको छ ।

आज बुधबार २४, भोलि बिहीबार २५ र शुक्रबार २६ गते गरी जम्मा ३ दिन सेवा प्रदान गरिने छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय तिङ्लाबाट प्रवाह हुने सेवालाई वर्षमा २ पटक काठमाण्डौमा पनि प्रदान गर्ने लक्ष्य सहित सम्पर्क समितिले वडा प्रतिनिधिहरुसगँ सहकार्य गरि सेवा प्रवाह गरिरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

उक्त कार्यक्रममा पञ्जिकरण शाखाको काम गरिएको छ । सेवाहरुमा जन्म दर्ता १० जना, विवाह दर्ता ७ जोडिको, बसाइँसराइँका ३ वटा र विभिन्न खालका सिफारिसहरु ९ वटा गरी जम्मा २९ जनालाई सेवा प्रदान गरिएको छ ।

उक्त सेवा प्रदान गर्न वडाध्यक्ष टंक बहादुर कार्की र वडा सचिव रमेश कार्कीको उपस्थित रहेको थियो । हाल वर्षमा २ पटक मात्र काठमाण्डौबाट सेवा प्रवाह गरिने भनिएपनि आवश्यकताका आधारमा सेवा बढाउन सकिने वडाध्यक्ष कार्कीले बताउनुभएको छ ।

उक्त सेवा लिन सोही वडाका चर्चित गायक आनन्द कार्कीको पनि उपस्थिति रहेको थियो । कार्कीले वडाबासीहरुका लागि राजधानीमा नै केन्द्रित रहि सेवा दिएकोमा सम्पर्क समिति र स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ । साथै यस्तो कार्यले महँगीको बेला आवजावतको यातायात खर्च र समय पनि बचत भएकोले खुसी व्यक्त गर्नुभएको छ । सोलुखुम्बु पुगेर लिनुपर्ने सेवा राजधानीमै लिन पाएकोमा आफू र सिङ्गो परिवार नै खुसी भएको सेवाग्राही कल्पना बस्नेतको भनाई छ ।