काठमाडौं,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर आफूहरुविरुद्ध मिडिया ट्रायल गरिएको बताएका छन्।
आज प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले सदनमा भएका सांसदहरु र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा रास्वपाविरुद्ध मिडिया ट्रायल गरिएको बताएका हुन्। उनले समितिले कसैको दवाब र प्रभावमा नपरी प्रतिवेदन पेश गर्ने विश्वास व्यक्त गरेका छन ।
समितिले कसैको दवाब र कसैलाई फेवर नगरी प्रतिवेदन बुझाउने छ। तर, हिजोदेखि हाम्रै विरुद्धमा मिडिया ट्रायले सुरु भएको छ। सदनमा भएका सांसदहरुलाई केही थाहा छैन, सम्बन्धित निकायलाई केही थाहा छैन। तर, सबै सूचनाहरु यही हो भनेर मिडियालाई कसरी थाहा हुन्छ ? उनले प्रश्न गर।
रास्वपाविरुद्ध हामीसँग प्रमाण छ भनेर बोल्ने सांसदहरु नै सहकारी ठगीमा मुछिएको उनले बताएका छन । उनले सहकारी ठगी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतलाई कारबाहीको माग गरेका छन। ‘हामीसँग प्रमाण छ, प्रमाण छ भनेर उफ्रने सांसदहरु आफ्नै प्रमाण भएको कारणले उफ्रिनु भएको रहेछ,’ उनले भने।
याे पनि पढनुहाेसः
काठमाडौं, प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन् ।
उनले समितिमा परेका उजुरीका आधारमा समस्याको जरैदेखि तथ्य जानकारी लिएर सम्पादन गरेको समेत बताएका छन । थापाले त्यसक्रममा ५६ वटा बैठक बसेको र पछिल्लो बैठकमा प्रधानमन्त्री आफै उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता जनाएको बताएका छन ।
उनले ४५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य ८ जनासहित ५५ जनासँग सोधपुछ गरेको बताएका छन । प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो ।
समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको सभापति थापाले संसद्लाई जानकारी गराएका छन् ।
उनले कार्यादेशमा रहेर महत्त्वपूर्ण १४ वटा सुझाव पेस गरेको भन्दै सहकारी क्षेत्र धर्मराए पनि प्रचुर सम्भावना रहेको बताएका छन । ‘चुनौतीलाई हल गर्दै सुधारमार्फत सहकारीलाई पुनजर्गेना गर्न जरुरी छ । यसका लागि सबैको सहयोग आवश्यक छ’, थापाले भने, ‘संविधानले गरेका प्रतिबद्धता बमोजिम सहकारी क्षेत्रलाई माथि उठाउन हामी सबै लागे सम्भव छ ।’
उनले सहकारी क्षेत्रमा ‘फेक’ ऋणी कायम गर्ने प्रवृत्ति रहेको भन्दै कानुनविपरित हुने काम बन्द गर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्रतिवेदनले सिफारिस गरेका विषयहरू सरकारलाई कार्यान्वयनमा लैजान संसदबाटै निर्देशन दिन सभापति थापाले माग गरेका छन । थापाले सहकारी क्षेत्रमा मडारिएको कालो बादल प्रतिवेदनले फाँटने विश्वास व्यक्त गरेका छन् ।