काठमाडौँ, नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । थोक व्यवसायीहरूले सामान आयात बढाएका छन् भने स्वदेशी वस्तुको उत्पादन पनि जोड दिइएको छ ।
तर, यस वर्षको चाडबाड थोरै महँगो हुने व्यवसायीहरू बताउँछन् ।
व्यवसायीहरूले यो वर्ष आयात गर्दा नै हरेक सामान ५–१० प्रतिशत सम्म महँगो भएर आएको बताएका छन् । नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखेले भने, ‘आयात गर्दा नै सामान्य साडीको १०० रुपैयाँ बढेको छ । यसले खुद्रा बजारमा कम्तीमा ५ प्रतिशत मूल्य बढी हुन सक्छ ।’
दसैँ नजिकिएसँगै उपत्यका बाहिरका व्यवसायीले काठमाडौँलगायत सहरबाट थोक सामान अर्डर बढाएका छन् । दसैँको करिब ८, १० दिन अघिसम्म थोक सामान अर्डर हुने व्यवसायीहरू बताउँछन् । त्यसपछि खुद्रा पसलमा उपभोक्ताको भीड बढ्छ । घटस्थापनापछिको हप्ता दिनमा सबैभन्दा बढी माग हुने व्यवसायीको भनाइ छ ।
भन्सार नाकाहरूमा चाप
दसैँका कारण बजारमा माग बढ्न थालेसँगै भन्सार नाकाहरूमा चाप बढेको छ । चाडबाडलाई लक्षित गरी सामान भित्र्याउने बढेसँगै भारत र चीन दुवैतर्फका भन्सार नाकाबाट हुने आयात उल्लेख्य बढेको हो ।
रसुवा भन्सार कार्यालयका अनुसार भदौ १५ यता दैनिक ५० भन्दा बढी ट्रक, कन्टेनर जाँचपास गरेर नेपाल भित्रिने गरेका छन् ।
यसअघि दैनिक १२ देखि १५ वटा ट्रक तथा कन्टेनर भित्रिने गरेका थिए । करिब ४०० गाडी भन्सार जाँचपासका लागि नाकामै छन् । गाडीको चाप एक्कासि बढेका कारण जाँचपासमा समय लागेको भन्सार निर्देशक रवीन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । उनले भने, ‘भदौ लागेपछि नेपाली व्यापारीहरूले चीनबाट सामान आयात बढाएका छन् । यसको चापले गर्दा जाँचपासमा ढिलाइ भएको हो ।’
चीनबाट विशेषरी विद्युतीय सामग्री, लत्ताकपडा, घरायसी सामग्री र फलफूल आयात हुने गरेको छ । पछिल्ला केही वर्षदेखि चिनियाँ विद्युतीय गाडीको आयात पनि उल्लेख भइरहेको छ । नेपाली बजारमा विद्युतीय गाडीमा चीनको एकाधिकारजस्तै छ भन्दा फरक पर्दैन । भदौयता विद्युतीय सवारी साधनको आयात थप बढेको छ । अहिले दैनिक ३०–४० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् ।
साउनमा मात्रै चीनबाट नेपालले २४ अर्ब ५४ करोडको सामान भित्र्याएको छ । यो अवधिमा नेपालबाट १५ करोड ७६ लाखको सामान चिनियाँ बजारमा पुगेको छ । सोही अवधिमा भारतबाट ७७ अर्ब ६८ करोडको सामान आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सामान निर्यात भएको छ ।
भारतसँग जोडिएको भैरहवा, विराटनगर, वीरगन्ज, नेपालगन्ज लगायत ठुला नाकामा पनि सवारी साधनको चाप लागेको छ । साउन महिनामा भैरहवाबाट २० अर्ब ६८ करोड, वीरगन्जबाट ४१ अर्ब ५१ करोड र नेपालगन्जबाट ५ अर्ब ५९ करोड रुपैयाँको सामान आयात भएको थियो ।
चीनसँग जोडिएको तातोपानी नाकबाट ४ अर्ब ३ करोड र रसुवा नाकाबाट ४ अर्ब ६४ करोडको सामान आयात भएको छ । यसरी नेपालमा सबैभन्दा धेरै स्थल मार्गबाट वस्तु आयात हुने गरेको छ । सामुद्रिक मार्गबाट हुने ढुवानीमा भारतको विशाखापट्टन र कलकत्ता बन्दरगाहको प्रयोग गरिन्छ ।
यसका साथै हवाईमार्ग भएर पनि चीन र अन्य तेस्रो मुलुकबाट उत्तिकै सामान आउने गरेको छ । साउन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट मात्रै १० अर्ब ९३ करोड रुपैयाँको सामान भित्रिएको भन्सार विभागको तथ्याङ्क छ । यसको तुलनामा भदौ र असोजमा सबै भन्सार नाकाको तथ्याङ्क योभन्दा करिब ३० प्रतिशत हाराहारी बढ्ने भन्सार विभागको भनाइ छ । विभागका निर्देशक हरिहर पौडेलले भने, ‘भदौ १५ यता भन्सारमा चाप निकै बढेको छ । यसको एउटै कारण चाडबाडमा देखिने बजारको माग नै हो ।’
चाडबाडलाई लक्षित गरेर भदौमा धेरै सामान आएको छ । कति आउने क्रममा छ । दसैँ लक्षित सामानहरू असोजको १५ सम्मै आयात हुने व्यवसायीहरू बताउँछन् । हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष रामहरि कार्की दसैँको समयमा सबैभन्दा बढी लत्ताकपडा र खाद्यान्नको व्यापार हुने बताउँछन् ।
‘वर्षभरमा हुने करिब ६० प्रतिशत व्यापार असोज र कात्तिकमा मात्रै हुन्छ,’ उनले भने, ‘दसैँमा लत्ताकपडा र खाद्यान्नको माग उच्च हुन्छ । तिहारमा सुनचाँदी, विद्युतीय तथा घरायसी सामग्री लगायतको माग बढ्छ ।