कवि भूपाल राईको `हरिनन्द र माटो´ कविता बिबादमा (कक्षा १२ को ऐच्छिक नेपाली पाठ्यक्रम)

कक्षा १२ को ऐच्छिक नेपाली विषयको पाठ्यपुस्तकमा एउटा कविता छ– ‘हरिनन्दर र माटो ’ चर्चित कवि भूपाल राईद्वारा लिखित यो कविताका कारण पाठ्यक्रम विकास केन्द्रमा हल्लीखल्ली मच्चिएको छ । नयाँ शैक्षिक सत्रमा यो कविता पाठ्यक्रमबाटै हटाउन केन्द्रमा दबावसमेत आएको छ ।

पाठ्यपुस्तकमा समावेश भएको ‘हरिनन्द र माटो’ शीर्षकको कविताले पोखरेलहरूप्रति नकारात्मक भ्रम फैलाएको भन्दै खोटाङको खार्पा थातथलो भएका केही व्यक्तिले पाठ्यक्रम विकास केन्द्रमा विरोध जनाएका छन् । नेपाली ऐच्छिक नेपाली विषयको यो पाठ्यपुस्तकको सम्पादन डा. रामप्रसाद ज्ञवाली, डा. गणेश अधिकारी, गणेशप्रसाद भट्टराई, देवीप्रसाद घिमिरे र वासुदेव ढुङ्गेलले गरेका हुन् ।

पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिका एक सदस्यले उक्त कविताबारे पोखरेलहरूबाट गुनासो आएको बताए । त्यसको सट्टामा भूपाल राईकै अर्को कविता राख्ने कि पूरै हटाउने भन्नेबारे छलफल चलिरहेको बताउँदै उनले भने, ‘हरिनन्द र माटो कविता फेर्दा भूपाल राईकै अर्को कविता पुस्तकमा समेटिन सक्छ ।’

विषय समितिको राय कवि नफेरौँ, कविता मात्र फेरौँ भन्ने रहेको उनले बताए । नेपाली विषय समितिको अध्यक्षमा कृष्णप्रसाद घिमिरे र सदस्यहरूमा इन्दु खनाल, देवी नेपाल, विष्णु ज्ञवालीलगायत छन् ।

कक्षा १२ को ऐच्छिक नेपालीको पाठ्यक्रमले निर्धारण गरेअनुसार सीमान्तीकृतहरूको आवाजअन्तर्गत राईको ‘हरिनन्द र माटो’ कविता पाठ्यपुस्तकमा राखिएको हो । सीमान्त पहिचानसँग सम्बन्धित आवाज भएर नै पहिले यो कविता पुस्तकमा राखिएको थियो । अहिले फेर्नु पर्दा पनि सोही किसिमको अर्को कविता राख्नुपर्ने समितिका सदस्य बताउँछन् ।

कविताबारे उत्पन्न विवादबारे प्रतिक्रिया माग्दा कवि भूपाल राईले भने आफूलाई यसबारे केही जानकारी नभएको बताए । आफ्नो कविता १२ कक्षाको पाठ्यपुस्तकमा समावेश गर्दा केन्द्रले आफूलाई पूर्वजानकारी नदिएको उनको प्रतिक्रिया छ । साथै पुस्तकमा समावेश भइसकेको र पठनपाठन नै शुरु भइसकेको कविताबारे अहिले आएर आफूले बोल्नु आवश्यक नरहेको भन्दै राईले यसमा थप प्रतिक्रिया दिन चाहेनन् ।

को हुन् ‘हरिनन्द’ ?

कक्षा १२ को पुस्तकमा समेटिएको कवितामा उल्लेखित हरिनन्द पोखरेल कुनै काल्पनिक पात्र होइनन् । उनी इतिहासकारले लेखिसकेका पात्र हुन् । उनी सेनबंश कालीन समयका पात्र हुन् । हरिनन्द चौदण्डीका सेन राजाहरुका पुरोहित थिए । पुरोहित भएको हुनाले सेन राजाहरुले उनलाई खोटाङको खार्पास्थित मलिलो खेत बिर्ता दिएका थिए ।

समय क्रममा सेन राजाहरुसँग हरिनन्द पोखरेलको सम्बन्ध बिग्रियो । त्यसपछि उनी माझ किरातको माटो बोकेर नुवाकोट दरबारमा उनले पृथ्वीनारायण शाहलाई बुझाएको इतिहास पाइन्छ । महाराज, माटो ल्याएको छु, लिइबक्सियोस् र माझ किरातमा आक्रमण गरिबक्सियोस् म सहयोग गर्छु भनिसकेपछि दूधकोशीमा डुंगा तयार गर्ने, हात हतियार बटुल्दिने इत्यादि गरेर किरात प्रदेशलाई चढाइ गर्ने काममा सबैभन्दा ठूलो हात रह्यो हरिनन्दको ।

भूपाल राईको ‘हरिनन्द’ कवितामा यो ऐतिहासिक कथन सबै नआए पनि माटो चढाएको विषयलाई प्रतिकात्मकरुपमा उल्लेख गरिएको छ । कवितामा हरिनन्द पोखरेलको परिचय र उनको ठेगाना, चरित्र चित्रण एवं आाफ्नो माटोमाथि गरेको ‘द्रोह’ कविले उल्लेख गरेका छन् ।

भाषा तथा साहित्य प्रज्ञा प्रतिष्ठानका प्रथम उपकुलपति समेत रहेका भूपाल राईको ‘आगोले जन्मोत्सव मनाउँदैन’ कविता सङ्ग्रहमा ‘हरिनन्द र माटो’ कविता सङ्कलित छ । यसमा पहिचानवादी कविताहरू सङ्कलित छन् । यसमा सङ्कलित कविता कुनै निरपेक्ष कविताझैँ काव्यगत नभई शतप्रतिशत वस्तुगत रहेको राईले संग्रहको भूमिकामा बताएका छन् । उनको ‘हरिनन्द र माटोे’ शीर्षकको कविता ऐतिहासिक विषयलाई लिएर रचिएको कविता हो ।

खार्पाली पोखरेल समुदायले हटाउन माग गरेको यो कविताको पूर्णपाठ यस्तो छ –

हरिनन्द र माटोे–

हरिनन्द

निषेध गर्छ माटोलाई

तर, पूजा गर्छ मालिकलाई

ऊ– बिनाहावा

बिनापानी

बिनामाटो

फुलाउँछ फूल

माटो नाछोई

उमार्छ फसल

भर्छ भकारी

र, छुट्याउँछ माटोबाट राजभक्तिको फूल

माटोको बङ्करभित्र

खडा गर्छ माटोकै महल

खान्छ माटै

बिस्ट्याउँछ माटै

तैपनि माटोकै विरुद्धमा

तय गर्छ धमिराको भूमिगत यात्रा

हरेक विकल्प छ माटोको ऊसँग

त्यसैले द्रोह गर्छ माटोसँग

त्यसैले भेटी चढाउँछ

आफैले शरण लिएको एक मुठी माटो

नुवाकोटको दरबारमा

ऊ– एक द्रोह उर्फ दारा

पूरा नाम– हरिनन्द पोखरेल

ठेगाना– खार्पा, माझ किरात, खोटाङ

द्रोह वर्ष सन् १७७३

दुर्भाग्य !

म माटो ढोग्छु

त्यसैले माली छु

ऊ माटो टेक्छ

त्यसैले ऊ मालिक छ ।

को हुन् कवि भूपाल राई ?

भोजपुर जिल्लाको वास्तिममा जन्मिएका राईले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । २०३४ सालमा छहरा पत्रिकामा ‘आमाको सम्झना’ कवितामार्फत सार्वजनिक साहित्य यात्रा सुरु गरेका उनका ‘सुम्निमाको तस्बिर’, ‘दाजै ! कविता गाउँमै छ’ र ‘सीमान्त सौन्दर्य’ कविता सङ्ग्रह, ‘पहिलो हरफ शिरबन्दी’ गीति सङ्ग्रह प्रकाशित छन् ।

उनलाई जातीय तथा वर्गीय विभेद र अत्याचारका विरुद्ध विद्रोहको आगो ओकल्दै समानता र मानवीय मूल्यका पक्षमा सन्देश दिने कविका रूपमा चिनिन्छन् । युगौँदेखिको जातीय भेदभाव र वर्गीय उत्पीडनका कारक तत्त्वको खोजी गर्नु, पहिचान पक्षीय अभिव्यक्ति दिनु, सामाज्य एकताका पक्षमा आवाज उठाउनु उनका वैचारिक प्रवृत्ति देखिन्छन् ।

प्रवक्ता भन्छन्– कविता हटाउने योजना छैन

पाठ्यपुस्तकभित्र कुन–कुन सिर्जना, कस्तो–कस्तो सिर्जना राख्ने भन्ने पुस्तक सम्पादन मण्डलले गर्छ । पुस्तक तयार भइसकेपछि अन्तिममा विषय समितिले स्वीकृति दिने व्यवस्था छ । ‘पुस्तकमा उल्लेखित कवितामाथिको विवादका सम्बन्धमा पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईसँग सम्पर्क गर्दा त्यस्तो कुनै विरोध नभएको दाबी गरे । उनले भने, ‘हाम्रो हटाउने योजना छैन । पाठ्यक्रममा राख्ने, हटाउने एउटा प्रक्रिया हुन्छ, त्यो केही पनि भएको छैन ।

पाठ्यक्रम विकास केन्द्रमा कविताबारे कुनै जानकारी वा गुनासो नआएको समेत उनले दाबी गरे । उनले भने, ‘कविता सबै कोणबाट ठीक भएको तर अन्त्यमा वर्ष यति, व्यक्ति, ठाउँ तोकेकै हिसाबले त्यो फेर्ने कि भनेर बहस चलेको हो, विवाद आएको पङ्क्ति लेखकसँग सल्लाह गरेर संशोधन गरी फेर्न पनि सकिन्छ ।’

१२ कक्षाको यो पुस्तक स्वीकृत भएर एक वर्ष पढाइसमेत भइसकेको छ । विद्यार्थीलाई परीक्षामा प्रश्न सोधिसकिएको र विद्यार्थीले उत्तर लेखिसकेका छन् । ‘भूपाल राईको व्यक्तित्व, कवित्वका बारेमा विद्यार्थीले पढिसके, लेखिसके; एकपटक पढिसकेको कुरा फेरि पढ्नुहुन्न भन्ने होइन’ समितिका एक सदस्यले भने, ‘ऐच्छिक नेपाली भएपछि विभिन्नखालका विचारहरू आउन सक्छन् । त्यसमा आलोचनात्मक दृष्टि सिकाउने हो, त्यो कोणबाट पनि जान सकिन्छ । गुनासो आयो भने त्यसलाई सम्बोधन गर्नुपर्छ र त्यो स्वाभाविक पनि हुन्छ ।’