१२ असार,काठमाडौँ बिरुपाक्ष ‘कबिता ‘ ✍️-सन्जित फलाना
यो मन्दिरको कुनाबाट
एकदिन त जरुर निस्कनुछ बाहिर
इश्वरहरुको दासजस्तो
अस्तित्वहरुको लासजस्तो
श्रापले हो या षड्यन्त्रले
थुनिएको छु यसरी
जाबो आफ्नै आदिमताको हुंकार गर्न नपाइकन
जाबो आफ्नै प्राचिनताको दावी गर्न नपाइकन
थुनिएको त के
पुरिएको छु / गाडिएको छु
सबैभन्दा होँचो भएर
सबैभन्दा पुड्को भएर
जाबो आफ्नै उचाइको बोध गर्न नपाइकन
यी चारैदिसा अग्लिएको डाँडाहरुको बिच
यी चारैसुर अग्लिएको पहाडहरुको बिच
बत्तिसकोटी देविदेउता डुलिहिँड्ने इश्वरैइश्वरको सहरमा
कसरी भासिएँ म दलदलमा ?
उघारेर सम्बोधिका दुई आँखा
चुपचाप नियाँलिरहेछ स्वयम्भुनाथ
जाबो उसको आँखाजत्रो नि महत्वको हुन सकिन म
लठ्ठिएर भाङको धुपमा
चुपचाप निदाइरहेछ पशुपतिनाथ
जाबो उसको पाइँतालाजत्ती नि उचाइको हुन सकिन म
बज्छन्
हरेक साँझबिहान दिवालका घण्टिहरु
गुन्जिन्छन्
हरेक उत्सवहरुमा भजनका रागहरु
तर छुँदैनन् मलाइ केहिले
बरु
फोहोरको थुप्रोमा अनुहार धोएर
बगिरहने बाग्मतिले छुन्छ
आर्यघाटमा मस्त जलिरहने
मुर्दाको मृत धुँवाले छुन्छ
भित्ताहरुको चेपमा गुम्सिरहने
बासी हावाले छुन्छ

डुल्छन् मेरै आसपास
फुलको थाली बोकेर तिर्थालुहरु
बुट बजार्दै
हिँड्छन् पर्यटक,फकिर र सरकारप्रमुखसमेत
तर देख्दैनन् मलाइ कसैले
बरु देख्छन्
बाग्मतिमा उर्लिरहने बाढिहरुले
खोँचहरुमा भत्किरहने पहिरोहरुले
दिवारहरुमा चर्किरहने भाग्नावशेषहरुले
भुइँचालोको एकएक बिध्वंसहरुले, चट्याङको झिल्काहरुले
जो जो छन् सुरक्षित
हुंकार गरिरहेछन् आफ्नो चेतनाको
दरबार/महल/सदनहरुमा
जो जो छन् मुक्त
प्रदर्शन गरिरहेछन् आफ्नो अनुहार
सभा/सम्मेलन/कार्यक्रमहरुमा
बिर्सिएर सारा देशले
यो युगकै पुरानो मान्छे म भने
थुनिएको छु यो खाल्डोमा
सम्झिनेहरु जो छन्
आएर मेरो आसपास
एकदुइ सिक्का फालेर पन्छिन्छन्
सोच्नेहरु जो छन्
आएर मेरो छेउ
एकदुइ थुङ्गा फुल फालेर पन्छिन्छन्
कति लाग्छ शताब्दिको पर्दा
मेरो मौनतामाथी ?
उघृँदै कति निभ्छ घामजुन
मेरो निर्जिवतामाथि ?
बर्सिन्छ कति अबिरको शौन्दर्य
मेरो कुरुपतामाथी?
यो त अति मजाक भो
मेरो अस्तित्वमाथि

दुई धार्नी तामाको बाफले डढेको
मेरो मुहार नखुइलिन्जेलसम्म
मेरो घाँटिमा बेरिएको
बोधिचित्तको माला नचुँडिन्जेलसम्म
मैले निस्कनैपर्छ बाहिर
र सुनाउनैपर्छ मेरो पुर्वकथाहरु। माङ्सेबुङ -५ हाल काठमाडौँ