हिमपात नहुँदा सोलुका किसान चिन्तित, हिमालहरु काला पहाडमा परिणत हुँदै

समयमा हिमपात तथा वर्षात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका किसानहरु चिन्तित बनेका छन् । वितेका वर्षहरुमा मंसिर पुसमै हिमपात हुने जिल्लामा यस वर्ष माघ लागिसक्दा पनि हिउँ नपर्दा डाँडापाखा तथा हिमालहरु कालो पहाडमा परिणत हुँदैै गएका छन् भने बालीनाली सुक्न थालेका छन् ।

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।

तर यस वर्ष हिउँ नपर्दा बाली सुक्न थालेको छ भने डाँडाकाँडा उजाड लाग्दा बन्दै गएको लिखुपिके गाउँपालिका ५ का कामी छिरी शेर्पाले बताए । जिल्लाको माथिल्लो क्षेत्रमा गएको वर्ष पुस लाग्न नपाई हिमपात भएको थियो । तर यस वर्ष माघमा समेत हिमपात नहुँदा आलु, उवा, गहुँ जस्ता बाली बारीमै सुक्न थालेको किसान बताउँछन् ।

हिँमपात नहुँदा बारी सुख्खा बन्दै गएको छ भने लगाइएको बालीहरु सुक्दै गएको माप्यदुधकोशी गाउँपालिका ५ की हस्तकला राईले बताइन् । वितेका वर्षहरुमा मङ्सिर सुरु नहुँदै सोलुखुम्बुको अधिकांश डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो ।

चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । यहाँका हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको छ भने मौसम समेत तातो हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका ३ का मिङमार शेर्पाको अनुभव छ ।

समयमा हिमपात नहुँदा खुम्बु क्षेत्रबाट देखिने सेताम्मे हिमालहरु समेत कालो बन्दै गएको स्थानीय ङिमा शेर्पाले बताइन् । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन ।

हिउँ पर्ने समयमा हिउँ नपर्नु र मौसम समेत तातिदै जाँदा यहाँका नागरिकहरु अच्चमित बनेका छन् । बन जंगलको तिब्र फडानी, विभिन्न हानिकारक ग्यासहरुको उत्सर्जन लगायतका कारण जलवायुमा परेको असरले वातावरणमा यि परिवर्तनहरु देखापरेको वातावरणविद राजन थापाले बताए ।