महाकुलुङमा ७ दिनदेखि जारी मेलमिलाप सम्बन्धी तालिम सकियो

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा ७ दिनदेखि जारी मेलमिलाप सम्बन्धी आधारभुत तालिम सकिएको छ । “समृद्ध महाकुलुङको आधार कृषि र पर्यटन यसको पुर्वाधार, राष्ट्र विकासको दिगोपना, शान्तिपुर्ण समाजको सिर्जना” भन्ने मुल नाराका साथ बुङमा गत पुस २५ गतेबाट सुरु भएको तालिम आज सोमबार सकिएको हो ।

गाउँपालिकाको आयोजना तथा ग्लोवल एडभोकेसी नेपाल ललितपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको तालिममा पालिकाका ५ वटै वडाका वडाध्यक्ष र प्रत्येक वडाबाट ३/३ जना मेलमिलापकर्ता गरि २० जनाको सहभागिता रहेको संवाददाता झलक राईले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा समेत सहज होस भन्ने उदेश्यले चालु आर्थिक वर्षको ४ लाख बजेटबाट कार्यक्रमको आयोजना गरिएको हो ।

पालिका उपाध्यक्ष एवं पालिका स्तरिय न्यायिक समितिका संयोजक विपना कुलुङको संयोजकत्वमा भएको तालिमको सहजिकरण सरकारी वकिल कार्यालय सोलुखुम्बुका प्रमुख मिना गुरुङ, जिल्ला कानुनी सहायक विपना आले मगर, पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेत, महिला तथा बालबालिका शाखाका कबिता आचार्य, ग्लोवल एडभोकेसीको तर्फबाट विनिता गुरुङ र सीता उप्रेतीले गरेको आयोजकले जनाएको छ ।