भौतिक सम्पन्नता त्यागेर जनयुद्धमा होमिएका सुदन किराँतीको यातना डायरी

काठमाडौं । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । तेस्रोपटकको संसदीय यात्रापछि मन्त्री बनेका किराँती लाहुरेका छोरा हुन् । तर, लाहुरेको छोरा हुनुको भौतिक सम्पन्नता त्यागेर जनयुद्धमा होमिएका थिए ।

२०६१ साल माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि मुलुकमा संकटकाल लागू भयो । माघ १९ को ‘कू’पछिको केही समयमै किराँती शाही सेनाद्वारा गिरफ्तारीमा परे । नेपाल र भारतको बोर्डर सिरहाको पटनारीमा माओवादीका सिरहा इन्चार्ज सुवास यादव, सेक्रेटरी अशोक मण्डल, किराँती र एक पत्रकार गिरफ्तारीमा परेका थिए ।

विराटनगरमा छातीको उपचारपछि सिन्धुली जान सिरहाको बोर्डर हुँदै जाँदै थिए । पटनारीमा माओवादीहरुले कन्ट्याक्ट लिएर बस्ने एक घर थियो । तर, किराँतीहरु पुग्दा माओवादी उक्त घरको सेल्टरबाट सिफ्ट भइसकेका थिए । त्यहाँ माओवादी विद्रोही छन् भनेर सूचना पुगिसकेको थियो ।

किराँती भन्छन्, ‘त्यहाँका मान्छेहरुले पनि सेना आएका छन् भन्दै थिए । अनि हामी हतारहतारमा हिँड्यौं । किनभने हामी डेन्जर जोनमा परिसक्यौं भन्ने आँकलन गरिसकेका थियौं ।’

हतारहतार बाइकमा कुद्न खोज्दा इन्चार्ज यादवले दिसा कुल्चिएपछि बाइक रोक्दै भने, ‘ओहो ! मैले त दिसा कुल्चेछु । दिसा सफा गरेर जाऔं न ।’

सुवास जुत्तामा पानी लगाएर झाडुले दिसा पुछ्न थाले । किराँती यही मौकामा सानो घरको पेटीमा बसेर दाँत माझ्न थाले । सेक्रेटरी अशोक मण्डल खाटमा एकछिन सुस्ताए । अर्का पत्रकार त्यतै बाहिर थिए ।

‘दाँत माझ्दै बाहिर हेरें । ओहो ! बाहिर त केटाकेटी र आइमाईहरू भागिरहेका छन् । ‘के भएछ’ भनेर फुत्त बाहिर निस्केको के थिएँ, ढ्याक्कै ६ जना सेना अगाडि !’, किराँती त्यो दिन सम्झन्छन्, ‘मैले केही थाहा नपाएजस्तो गरेर दक्षिणतिर अनुहार फर्काएको थिएँ । आत्तिनु पनि भएन । सेनाले ‘सी’ आकारमा घेरो हालिसकेको रहेछ । ती ६ जना चाहिँ ‘ओ’ आकारको घेरो हाल्न कुदेर आएका रहेछन् ।’

अचानक गोली चल्यो, भुटुटु….।

सेना बन्दुक सोझ्याएर किराँती नजिक आइपुगे, ‘हात उठा !’

किराँतीले हात उठाएनन् । हात नउठाएपछि पछाडिबाट बन्दुकको कुन्दा उनको टाउकोमा बज्रियो ।

भर्खर २३ वर्ष पुगेका थिए त्यसवेला । बन्दुकको कुन्दाले हिर्काएको ठाउँबाट रगत निस्कन थाल्यो । जुत्ता लगाएका थिए । तातो रगत जीउबाट विस्तारै लुसुसु खसेर जुत्ताभित्र पस्यो । यति भएपछि उनको आँखा बन्द भइगयो । भक्लक्क ढले ।

विस्तारै होस खुल्यो ।

गलबन्दी लगाएका थिए । त्यही गलबन्दीले हात पछाडि बाँधियो । आँखामा पट्टी बाँधियो । घिसार्दै घरको आँगनमा लगियो ।

सुदन भन्छन्, ‘त्यतिखेर साथीहरु त पक्कै पनि उम्किए होलान् भन्ने लागेको थियो । ममात्रै मधेसमा फेस नमिल्ने मान्छे थिएँ । साथीहरूको फेस मिल्थ्यो । आँखामा बाँधिएको पट्टीबाट नाकका कारण बनेको सानो प्वालबाट यस्सो बाहिर चिह्याएँ । साथीहरूलाई त गहुँबारीबाट पिट्दै ल्याइरहेका छन् । पत्रकार भने उम्किएछन् ।’

सुदनलाई अहिले पनि लाग्छ, पत्रकार उम्किनु नै आफूहरु बाँच्ने अवस्था बन्यो । त्यसवेलासम्म बीबीसीमा समाचार आइसकेको थियो । नत्र त पक्राउ गरेर मुठभेडमा मारियो भनिन्थ्यो ।

त्यसवेला पनि सेनाको वाकीत्वाकीमा आवाज आइसकेको थियो- ‘तिनीहरूलाई त्यतै व्यवस्थापन गरिदिनू ।’

किराँतीलाई अलि पश्चिम-दक्षिणतिर तान्दै लगियो । रुखमा बाँधियो । सशस्त्र, प्रहरी र आर्मीको युनिफाइड कमाण्ड थियो । एक सिपाहीले गोली लोड गरेको आवाज किराँतीले सुने ।

तर, कोही बोल्यो, ‘एकछिन पख ।’

बोल्नेले सुदनको देब्रे पाखुरामा समातेर भने, ‘भन प्रचण्डे र बाबुराम, बादल कहाँ छन् ?’

‘मलाई थाहा छैन ।’

‘ए, तँलाई थाहा छैन ? अब तेरो राम्रो बन्दोबस्त हुन्छ’, एकछिन रोकिएर बोले, ‘त्यसो भए तँलाई बाँच्ने मन छैन ?’

‘संसारमा सबै प्राणीलाई बाँच्ने मन त भइहाल्छ नि !’

‘तँलाई चाहिँ के गरुँ ?’

‘त्यसवेला मैले जेनेभा सन्धि सम्झिएँ । जहाँ भनिएको थियो कि कुनै पनि युद्धमा विपक्षीलाई गिरफ्तार गरेर मार्न पाइन्न । अनि तपाईंको युद्ध नीतिमा जे छ त्यही गर्नुस् भनें’, किराँती सुनाउँछन् ।

सवालकर्ताको आवाज आयो, ‘ओहो ! यो त ठूलो नेता हो क्यार ।’

फेरि ऊ नै बोल्यो, ‘एक घण्टा चाहिँ यसलाई नमारौं ।’

उनको एक घण्टा आयु बढ्यो ।

एक घण्टा सकिएपछि पनि किराँतीलाई मारेनन् । रुखबाट निकालेर हिँडाउन थाले । बीचमा खोला आएछ । एक सिपाहीले भने, ‘जुत्ता खोल भाइ । खोला तर्नुपर्ने भयो ।’

‘खोल्दिनँ, यतिकै तर्छु ।’

‘बाँचिस् भने त लगाउन पाउँछस् नि !’

‘सिपाहीको कुराले बाँच्ने आशा पलायो । जीवनप्रतिको मोहले मुटु ढुक्क फुल्यो’, किराँतीले त्यो खोला र मृत्युको मुखमै पुगेको पल सम्झिए ।

०००

पक्राउ परेकामध्ये एकजनाको झोलामा एक लाख ७० हजार रूपैयाँ थियो । उक्त पैसा सेनाका लागि दशैं जस्तो बनिहाल्यो । किराँतीलगायत तीनजना विद्रोहीलाई एक अँध्यारो कोठाभित्र थुने ।

सेना भन्थे, ‘यहाँ चाहिँ चारतले घर छ, कसैले सक्दैन ।’

भोलिपल्ट बिहानै चार बजे ट्याक्टरमा तीनैजनालाई चढाए ।

निकै हिँडेपछि पिच आयो । ट्याक्टर आइपुगेको थियो, सिरहा गोलबजार । त्यहाँ तीनैजनालाई आलुको बोरालाई जसरी लातले हुत्याएर झारे । भूईंमा किराँती पछारिएका के थिए, एकजनाले ताने । आँखामा पट्टी उस्तै, हात उस्तै बाँधिएको । अलि लगेर भने, ‘म इन्स्पेक्टर हो लहानको । दुर्भाग्य यार, अब आज राति तिमीहरूलाई मार्छन् । पुलिसतिर परेको भए बाँच्थिस् । आर्मीको गणमा परिस् । अब तेरो घरमा केही समाचार छ भने भिनिराख, म सुनाइदिन्छु ।’

सुदनको मनमा चुक घोप्टियो । मन सय टुक्रामा टुक्रियो । इन्स्पेक्टरले लगातार तीनपटक सोधेपछि मात्रे सुदनले भने, ‘छ ।’

‘के छ ? भन ।’

‘तिमीहरूको छोरालाई समाएका थियौं । आत्मसमर्पण गर्न मानेन, मारिदियौं ।’

इन्स्पेक्टर किराँतीलाई धाप मारेर गयो ।

गाडी आएको थियो । तीनजनालाई बोकेर गाडी पश्चिमतिर गयो । गाडी चुरे जंगलतिर सोझियो अनुमान थियो किराँतीको ।

किराँती भन्छन्, ‘जंगलमा गाडी निकैबेर रोकिएपछि टेलिफोनको रिङ बज्यो । आर्मीको क्याम्प थियो । पक्कै पनि रेडक्रसको मान्छेको फोन आएको हुनुपर्छ सोचें ।’

किराँतीका अनुसार उनीहरुलाई त्यहाँ १७ रात राखे । लगातार यातना दिए । राति ११-१२ बजे बाहिर निकाल्थे । सबैभन्दा पहिला सोध्ने, ‘तेरा नेता कहाँ छन् ?’ अनि यातना ।

एक हजार लिटरको पोलिट्यांकमा पानी भरिएको हुन्थ्यो । त्यहाँ टाउको डुबाएर निकैबेरसम्म राख्थे । बेहोस भएपछि पानीबाट निकाल्थे । कहिलेकाहीं गहिरो माटोको खाडलमा हालेर घाँटीघाँटी पुर्थे । अनि घाँटी छेउमा खुकुरी राख्थे । बलेको हिटरमाथि पिसाब फेर्न लगाउँथे ।

उनी सुनाउँछन्, ‘पिसाब फेर्दा करेन्ट लागेर थरर काँप्थें । अनि भक्लक्क लड्थें । एकदिन लाग्यो, म त मर्छु नै यहाँ । तर, मार्ने ठाउँ चाहिँ कस्तो रहेछ ?’

पछाडि बाँधेको हात घुमाएर अगाडि ल्याए । १७ दिनसम्म केही नखाएको ज्यान, सर्लक्कै घटेका थिए । पछाडि बाँधिएको हात सजिलै अगाडि आयो । हात अगाडि आएपछि आँखाको पट्टी अलिकति खोलेर हेरे । जमिनमुनि खनेर बनाइएको सुरुङमुनि थिए । माथि घर, तल सुरुङ । अगाडि फलामको गेट । सानो हावा छिर्ने प्वाल । धूलो टम्म ।

‘त्यसवेला मलाई लाग्यो, कति धेरै कुरा अरूलाई सुनाउन पाए पनि त हुने नि ! कुनै डायरीमा लेख्न पाए कति छिटो लेख्थें होला’, अलि भावनात्मक हुँदै भन्छन् किराँती, ‘त्यो दिन घर परिवारको बेस्सरी याद आयो । अब अरू दिन बाँच्न सकिन्छ भन्ने आशै थिएन । अब म मर्छु । यो बाटोमा लाग्ने मान्छे मेरो घरमा फेरि जन्मने छैन । अनि पार्टीले मलाई के भन्ला ? सहिद पनि होइन, बेपत्ता पनि भइसकेको छैन ।’

०००

सत्ताइस दिन बित्यो ।

सत्ताइसौं रात उनको दिमागमा एउटै कुरा खेलिरह्यो, ‘अब म एकदेखि दुई घण्टामात्र बाँच्छु ।’

उनले आफ्नो अनुहार हेर्न पाएका थिएनन् । जीउ उस्तै गनाउने भएको थियो । अर्धचेत अवस्थामा थिए । रातभर चिसोमा डुबाएर राखेका थिए । कपडा भिजेको थियो ।

किराँती थप्छन्, ‘देब्रे पाटो फत्रक्कै गलेको थियो । लामो सुरुङ । चैत लागेको समय । हिउँदको जाडोमा पसेको सर्प गर्मीमा निस्कँदा मेरो गर्धनमाथि आइपुगेको रहेछ । तर, मेरो भाग्य बलियो रहेछ । यतिञ्जेल बाँचेर जनताको सेवा गर्नुपर्ने रहेछ । मलाई कसो सर्पले डसेन !’

आर्मीहरू आए । सर्पलाई लठ्ठिने औषधि दिए । सर्पलाई कोट्याएर बाहिर निकाले । सर्प तानिँदा सुदन पनि तानिए । देब्रे पाखुराका छाला सबै घस्रिएर सकिए । उनका अनुसार रगत आएन, सेतो मासु सर्लक्कै देखियो ।

सुरुङबाट बाहिर निकाले ।

किराँतीका अनुसार त्यहाँ दुई खालका सेना थिए । एक खालका सेनाले ‘चकलेट खान्छौ ?’ भन्दै दिन्थे । अर्का भने पाँचथरका राई थिए । बेस्सरी पिट्दै भन्थे, ‘तँ राईको बैज्जत गर्ने ? हाम्रो वंशको बैज्जत गर्ने ?’

यतिञ्जेल उनको आँखाको पट्टी खुलिसकेको थियो ।

आँखाको पट्टी खुलेपछि उनलाई १८ नम्बरको सानो पोस्टमा राखियो । त्यहाँ सुदन सुतेको सुत्यै भए । चल्ने जाँगर भए पो चल्थे ! अलिअलि खानेकुरा पनि दिन थालेका थिए । मकवानपुरको सिपाहीले चकलेटहरू पनि दिन्थे ।

६३ दिनको बिहान । सुदनको आँखामा फेरि पट्टी बाँधियो ।

०००

पट्टी खोलियो ।

सिरहा जिल्ला कारागार । उनलाई ६ नम्बरको बेडमा सुताइयो । बेडमा भित्तो थियो । सानो झ्याल पनि । अलि पर चाहिं ऐना । उनलाई ऐना हेर्न खुब रहर लाग्यो ।

जेलमा रहेका सबै टोपी बुन्न गए । १२-१ बजेतिर सुदनले झ्यालको रड समाते । उठेर भित्ता समाउँदै-समाउँदै ऐना अगाडि पुगे । ऐना अगाडि उभिएर आफ्नो अनुहार हेरे ।

किराँती सम्झिन्छन्, ‘ऐनाअघि उभिँदा लाग्यो, ओहो ! यो कसको अनुहार हो ? कत्ले माछाको जस्तो अनुहार कसको हो ? मैले आफैंलाई चिन्न सकिनँ । मनमनै सोचें, थुक्क किन बाँचेको म ? न मलाई बाउआमाले चिन्छन् न त समाजले ।’

०००

जेलको २३ औं दिन ।

सुदन केही लेखिरहेका थिए । लेखेर सिरानीभित्र हालेर सिलाइहाल्नुपर्थ्यो ।

अचानक बाहिरबाट माइकमा नाम बज्यो, ‘सुदन किराँती !’

विस्तारै उठेर बाहिर गए । अगाडि फलामको गेटपारि बाउ टक्क उभिरहेका थिए । भूतपूर्व ब्रिटिस आर्मी । एकदमै कडा स्वभावका मान्छे । हाफ टी-सर्ट, टोपी पनि । एकदम दुब्ला । सुदन फलामे गेटका चेन पक्रिएर उभिए । बाउ–छोराको दूरी थियो, दुवैले हात लम्काउँदा भेटिने ठाउँको ।

बाउले छोरोलाई सीधा हेर्न सकेनन् ।

पश्चिम-उत्तरतिर फर्किएर छड्के हेरे ।

‘बुवाको आँखाबाट आँसु खसिरहेको थियो । उहाँ यति विघ्न रोएको पहिलोपटक देखेको थिएँ । आमा रोएको देखिरहेकाले आमा रोएको सुहाउने जस्तो लाग्थ्यो । बुवा रोएको एकदमै नसुहाउने ।’

बाउले आँसु पुछ्दै नाको स्वरमा भने, ‘छोरा, तँलाई मैले के देख्नुप¥यो । मन्त्री हुन्छु भनेर हिँडिस् । के मन्त्री भइस् हैन ?’

बाउको प्रश्नको अर्थ थियो, लाहुरे भइनस्, हङकङको आईडी थियो, गइनस् । घरमै पनि राम्रै राखेको थिएँ । गरिखाने ठाउँ थियो । लगायत…. ।

घाम डुब्न लागेको थियो । बाउले देब्रे खल्तीबाट तीन हजार रूपैयाँ झिकेर हात तन्काएर सीधा नहेरी दिए । अनि फर्किए । सुदनको आँखा बाउ गएतिर परसम्म बासँगै गइरह्यो । बाउ हराए ।

अहिले किराँतीका बाउ अस्पतालमा बिरामी छन् । पक्षघातका बिरामी बाउ किराँती मन्त्री भएको खबर सुन्नासाथ अचम्मित भएका छन् । र भनेका छन्, ‘हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं । मन्त्री भइस्, राम्रो गर्नू ।’

०००

२०६२ सालमा किराँती छुटे ।

जेलबाट निस्किएर सीधै घर आए । साँझमा आइपुगेका थिए । घरमा पटकपटक मरेको खबर पुगेको थियो । उनलाई हेर्न मान्छे आँगनभरि थिए ।

घरमा सोलार जोडिएको थियो । सोलारको बत्ती बलेको थियो । बत्तीमुनि आमा थिइन्, जो अहिले बितिसकिन् ।

सिरहा जेलमा अन्तिमबाट किराँतीलाई भेटेपछि बाउले घर छाडिसकेका थिए । किराँतीलाई भेटेपछि उतैउतै कता गएका थिए ।

किराँती सम्झन्छन्, ‘घरमा आमा अगेना छेउमा थिइन् । अलि वर म थिएँ, बाउ बस्ने ठाउँ छेउमा । हाम्रो राईहरूको घरमा बाउ बस्ने ठाउँ छुटै हुन्छ । आमाले चिम्टाले आगो चलाउनुभो । तर, आगो निभिसकेको थियो । मैले भनें, ‘आमाजी, ५४ वर्षमात्र पुग्नुभएको छ । कति बूढी देखिनुभएको ?’

आमा केहीबेर बोलिनन् ।

एकछिनपछि आमाले लामो बोलिन्-

‘जब तँ गिरफ्तार परिस् । एक महिनापछि मात्र हामीले थाहा पायौं । त्यस्तो खबर सुनेपछि मलाई अँध्यारो हेर्नै मन लागेन । यो घरभित्र त बस्नै मन लागेन । जतिवेला उज्यालो हुन्छ बाहिर कुदिहाल्थें । जति समाचार सुन्यो, मरेको र मारेकोमात्रै आउने । हाम्रो जिल्ला (भोजपुर)मा जताततै गोली पड्किने, लडाइँ हुने ।

बारीको डिलमा बस्थें । तँ आउने बाटो तल, वरपर, मास्तिर तीन बाटोतिर मात्र हेर्थें । काग कराउँदासम्म पनि के समाचार ल्यायो भनेर झस्किरहन्थें । मलाई घरभित्र पस्न मन लाग्दैन थियो । रात पर्‍यो । तर, भित्र पस्न मन लाग्दैन थियो । तैपनि अँध्यारोमा नदेखेपछि पस्नैपर्‍यो । अनि भित्र पस्थें ।

जर्किनमा रक्सी हुन्थ्यो । र, जर्किनबाटै रक्सी घटघट पिएपछि भन्थें, ‘बाँचेको छस् भने छोरा आइज, मरेको छस् भने चाहिँ रातभर घरमा तर्साउनू । मै बाँच्दाखेरि तेरो काजकिरिया गरिदिन्छु । अनि रक्सी खाएर सुत्थें । फेरि उज्यालो हुन्थ्यो, बाहिर दगुर्दै गएर तेरो बाटो हेर्थें ।

०००

भोलिपल्ट बिहानको ५ बज्यो ।

किराँतीलाई घरबाट हिँड्नु थियो । मामाको छोरो र कान्छो भाइ माथि मैयुङसम्म पु¥याउन आएका थिए । साथीहरूले त्यहाँ कुरिरहेका थिए । उनले झोला भिरे ।

जब झोला भिरे, आमा डाँको छाडेर रुन थालिन् । आमाले रुँदै भनिन्, ‘नजा छोरा । अब फेरि लडाइँ हुन्छ । तँ जितेर के गर्छस् र ! तँ गइस् भने यही दलिनमा झुण्डेर मर्छु ।’

सुदन भन्छन्, ‘अनेक हिसाबले आमालाई सम्झाएँ । तर, आमाजीले मान्नुभएन । आमालाई जसरी सम्झाउँदा पनि नमानेपछि सुदन मुटु मिचेर हिँडे । १५-२० मिनेट हिँडेपछि घरतिर फर्केर हेर्दा आमा घरभन्दा अलि पर गएर भूईंमा हात बजार्दै अनि आकाशतिर उठाउँदै रोइरहेकी थिइन् । टाढाबाट आमाको त्यो अवस्था देख्दा लागेको थियो, थुक्क ! दशधारा दूध खुवाएकी आमालाई त सम्झाउन सकिनस् । कसरी देश परिवर्तन गर्छस् ? लाहुरे लाग्छु भनेर झोला बोकेर घरदेखि हिँडेको भए फूलको घडा बनाएर, माला उनेर चेलीहरूले, आमाबाउले दही खुबाएर बिदाइ गर्ने जातिको छोरा म । यसरी हिँड्दा मेरो बाटो छेक्ने जातिको छोरा म ।’