शेर्पाको ‘मेरो प्रयास’ एकल सांगितिक साँझ कार्यक्रममा सहयोगार्थ जुट्यो १४ लाख नगद

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा आयोजना गरिएको सांगितिक कार्यक्रमबाट करिव १४ लाख रपैयाँ आर्थिक सहयोग संकलन भएको छ । शनिबार सम्पन्न टाक्सिन्दु मावि सहयोगार्थ गायक आङ गेलु शेर्पाको ‘मेरो प्रयास’ एकल सांगितिक साँझ कार्यक्रममा विभिन्न सहयोगी हातहरुबाट उक्त रकम सहयोग प्राप्त भएको हो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नाम्गेल जाङबु शेर्पाले टाक्सिन्दु माविमा प्लस टु सञ्चालनका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । उनले कार्यक्रमलाई सम्बोधन गर्दै गायक आङ गेलु शेर्पाले शैक्षिक क्षेत्रको विकासका लागि गरेको प्रयासको प्रशंसा गरेका छन । नगरप्रमुख शेर्पाले नगर भित्रको शैक्षिक उन्नयनमा आफुहरु सदैव सकारात्मक रहने बताए ।

टाक्सिन्दु माध्यमिक विद्यालयमा प्लस टू सञ्चालन गर्न विद्यालयको गुणस्तर बृद्धि गर्र्नुपर्ने, घट्दो विद्यार्थी संख्याको स्थितिलाई कम गरेर विद्यार्थी संख्या बढाउन अग्रसर हुन अनुरोध गर्दै नगरप्रमुख शेर्पाले बिद्यालयले प्लस टू सञ्चालन गर्न मापदण्डहरु पुरा गरे नगरपालिका आवश्यक लगानी गर्न तयार रहेको बताएका छन ।

कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख गान्धि माया तामाङले विद्यालयमा प्लस टू सञ्चालनको सपना देख्ने गायक आङगेलु शेर्पाको प्रशंसा गर्दै शैक्षिक उन्नयनका लागि नौलो अभियान भएको बताइन् । कार्यकक्रमका विशेष अतिथि तथा टेम्केमैयुङ गाउपालिकाका भोजपुरका अध्यक्ष सरोज बस्नेतले पनि शैक्षिक क्षेत्रका लागि स्वतस्फुर्त रुपमा गायक शेर्पाको प्रयासको प्रशंसा गर्दै कार्यक्रम आयोजना गर्नुको उदेश्य प्राप्तीको शुभकामना व्यक्त गरे ।

टाक्सिन्दु मावि नुनथलामा प्लस टू सञ्चालनका लागि १ करोड आर्थिक सहयोगको लक्ष्य राखिएको छ । लक्ष्य अनुसारको आर्थिक सहयोग जुटाइ टाक्सिन्दु मावि भुपु विद्यार्थी संघको खातामा जम्मा गरी सोको व्याज रकममार्फत प्लस टु सञ्चालन गरिने गायक तथा कार्यक्रमका आयोजक आङ गेलु शेर्पाले जानकारी दिए । उनले प्लस टू सञ्चालन गर्न सरोकारवालाहरुले पनि सहयोग गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले सांगितिक कार्यक्रम मार्फत शैक्षिक क्षेत्रको उन्नयनका लागि गरिएको प्रयास प्रशसनिय रहेको बताइन् ।

कार्यक्रममा अन्य बक्ताहरुले पनि गायक शेर्पाको समाजसेवा प्रति खुसि व्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व रहेका विद्यालयका प्रधानाध्यापक आइविर राईले विद्यालयमा प्लस टू सञ्चालन हुनेमा विश्वास व्यक्त गर्दै आयोजक गायक शेर्पालाई धन्यवाद व्यक्त गरेका छन ।

सांगितिक साँझ कार्यक्रममा हास्य कलाकार उमेस राई (फुलन्देकि आमा), निमा गेलु शेर्पा, गायक विसन मुकारुङ, रोज मोक्तान, गायिका मिना राई लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कलाकारहरुले दर्शकहरुलाई राति करिव एक बजे सम्म मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा टाक्सिन्दुमा सयौँको संख्यामा स्थानियहरुको उपस्थिती रहेको थियो ।