चट्याङ लागेर १८ वटा जंगली हात्तीको मृत्यु

भारतको उत्तरपूर्वी राज्य असममा चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । असमको नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । ‘स्थानीय अधिकारीका अनुसार १८ वटा हात्ती मरेका छन् ।

प्रारम्भिक जानकारीअनुसार चट्याङ लागेर हात्ती मरेका हुन्,’ असमा वरिष्ठ वन अधिकारी एम के यादवले हिन्दुसँगको कुराकानीमा भनेका छन् । उनले मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुने बताए ।

असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताएका छन् ।

भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन् जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेका हुन् ।

यो पनि:

टिपरको ठक्करबाट गए राति तनहुँमा नेपाली सेनाका प्युठ सुरज बुढाथोकीको मृत्यु भएको छ । दोलखा जिल्ला घर भई हाल इञ्जिनीयरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत २७ वर्षीय बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा सवार एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–२–०१८प ७८९३ नंको मोटरसाइकललाई विपरीत दिशामा गुडिरहेको ग१क २८७७ नंको टिपरले आँबुखैरेनी गाउँपालिका–२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

टिपरले बिहीबार साँझ मोटरसाइकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक बुढाथोकीको तत्कालै उद्धार गरी पुरानो मेडिकल अस्पताल भरतपुर लगिएकामा उपचारका क्रममा भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त मोटरसाइकलमा पछाडि सवार रामेछाप जिल्ला गोकुलगङ्गा–४ बस्ने सोही पल्टनमा कार्यरत सिपाही २० वर्षीय अनिल खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए