कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु, ८,२०३ संक्रमित थपिए

नेपालमा थप ८,२०३ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट झन्डै २१,००० परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्। मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा मङ्गलवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ।

गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,८९१ जना सङ्क्रमणमुक्त भएका छन्।अहिले देशभरि १,१४,५२९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या उल्लेख्य छ। केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख र आइतवार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५,००० नाघेको सरकारले बताएको थियो।