राष्ट्रियसभालाई सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने चाहना व्यक्त गरेकी छिन् । आइतबार वा सोमबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रपति उपस्थित हुने र बैठकलाई सम्वोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।

विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । राष्ट्रपतिले आइतबार वा सोमबार सम्वोधन गर्ने तिमिल्सिनाले समितिलाई जानकारी दिए ।

उता, संसद सचिवालयका कर्मचारीहरु भने दुबै सदनको संयुक्त अधिवेशन आह्वान गर्ने र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबाहेक अरूबेला राष्ट्रपतिले संसदमा यसरी उपस्थित हुने परम्परा नरहेको बताउँछन् ।

राष्ट्रियसभाको बैठकलाई राष्ट्रप्रमुखले सम्वोधन गर्ने संसदीय परम्परा नरहेको संसद सचिवालयका एक कर्मचारीले रातोपाटी बताए ।

गृहमन्त्रीबारे गलफती

यसैबीच, विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले बैठकको सुरुमै गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने माग भएको बताएका थिए । यही विषयलाई दलका नेताहरुसँग केहीबेर तर्क–वितर्क भएको थियो ।

अन्ततः दुबै चरणमा बैठक राख्ने, पहिलो चरणमा दलका नेताहरुले सम्वोधन गर्ने र केही बेर बैठक स्थगन गरेर दोस्रो चरणमा गृहमन्त्रीलाई बोल्न दिने सहमति भएको राष्ट्रिय सभाका एक सदस्यले जानकारी दिए ।

राष्ट्रियसभाको आठौं अधिवेशन आज अपरान्ह ४ बजेदेखि शुरु हुँदैछ ।