आज महा शिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ

काठमाडौं, आज फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री पर्व भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ । मध्यरातमा चतुर्दशी तिथि आज परेकाले यसै दिन महाशिवरात्री पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

महाशिवरात्रिको दिन दर्शनार्थीका लागि पशुपति क्षेत्रमा बिहानैदेखि चारै ढोका खोल्ने बताइएको छ । पशुपति क्षेत्रका चारै ढोका बिहान चार बजेदेखि नै खोलिने बताइएको छ । पर ब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्रि, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।

पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुग्नुभएको थियो ।

सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उहाँहरूलाई दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले साेमबार पशुपति क्षेत्रको निरीक्षण अवलोकन गर्दै दर्शनार्थीलाई पानी तथा निःशुल्क खानाको व्यवस्थापन गर्न निर्देशन दिएसँगै अहिले उक्त क्षेत्रमा निःशुल्क खाना तथा पानीको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथ दक्षिणढोका, पश्चिम रुद्रगाडेश्वरबाट दर्शनार्थीलाई मन्दिर प्रवेश मिलाइएको छ । आज को दिन ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई नि शुल्क भोजनको गराउन भनिएको छ । मन्दिरमा वृद्धवृद्धाका लागि छिटो दर्शन गर्ने व्यवस्था पनि मिलाइएको छ ।