दही चोरेको निहुँमा दलित बालिकालाई बाँधेर यातना

रामेछापको मन्थली नगरपालिका–६ मा दलित महिलालाई बन्धक बनाएर यातना दिइएको छ । दही चोरेको आरोपमा मन्थली नगरपालिकाकी १२ वर्षीया बालिकालाई स्थानीय चिउरीपानीका ६३ वर्षीय शेरबहादुर श्रेष्ठको परिवारले यातना दिएका हुन् ।

मंगलबार दिउँसो बालिकाको उद्दार गरिएको रामेछापका डिएसपी राजकुमार थिङले बताए । फागुन ३० मा दिउँसो साढे ४ बजेबाट बालिकालाई दलानको थाममा बाँधेर श्रेष्ठ परिवारले यातना दिएका हुन् । बालिका बन्धक बनाउने शेरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित परिवारले श्रेष्ठविरुद्ध अपहरण गरेर शरीर बन्धक बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको डिएसपी थिङले जानकारी दिए । मन्थली नगरपालिका–६ चिउरीपानीस्थित श्रेष्ठको घरबाट प्रहरीले बालिकालाई उद्दार गरेर सदरमुकाममा ल्याएको थियो ।

घरभित्र पसेर चोरी गरेको आरोपमा श्रेष्ठका परिवारले हात पछाडि बाँधेर शरीर थाममा बाँधेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बन्धक बनाएको थाहा पाएपछि मन्थली–६ का अध्यक्ष गोपाल माझीले प्रहरीलाई खबर गरेका थिए ।