दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण

थुलुङदुधकोशी–८ र माप्यदुधकोशी–६ जोड्ने कायखेत स्थीत दुधकोशी नदिमा निर्माणाधिन मोटरेवल पुलको स्थलगत निरीक्षण गरिएको छ । सोलुखुम्बु जिल्लाका संघीय संसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेम कुमार राई (शुरवीर) सहितको टोलीले बिहिबार उक्त पुलको निरीक्षण गर्नुभएको हो ।

२०७७ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुलको हालसम्म पिलर राख्ने तथा ढलानको काम सम्पन्न भएपनि अन्य बाँकी रहेको छ । जसले गर्दा वाकुका स्थानीयले खाद्यन्न ढुवानी देखि सदरमुकाम र गाउँपालिका केन्द्र सम्म पुग्नको लागि कि त पैदल कि त दुईवटा सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको छ ।

संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानी रु.६ करोड ५ लाख ५९ हजारको लागतमा निर्माणाधिन पुलको कार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट भुक्तानी नभएकाले समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।

सांसद राईले पुल चाडै सम्पन्न हुन नसक्नुको कारण बारे वाकुका स्थानीय र वडा अध्यक्षसंग आवश्यक जानकारि दिनु भयो । पुलको ३६.५ मिटर लम्बाई र ३.५ मिटर चौडाई भएको पुल सम्पन्न गर्नको लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता समेत सांसद राईले व्यक्त गर्नुभएको छ ।

यस अघि प्रदेश सांसद एवम् नेकपा एमाले प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले समेत पुल निर्माणमा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताउँनुभएको थियो । आवश्यक बजेट भुक्तानी हुन नसकेको स्वीकार गर्दै सांसद राजभण्डारीले अब चाडै निकास निस्कने बताउँनुभएको थियो ।

यसैबीच, जिल्लाका प्रदेश तथा संघीय सांसदले पुलको अवलोकन गरेकाले समस्या समाधान हुनेमा वाकुका स्थानीयवासी विश्वस्त भएका छन् । स्थानीय समेत रहनुभएका गारैब खालिङले जिल्लाका जनप्रतिनिधिले चाडै पुल सञ्चालनमा ल्याउने गरेको प्रतिवद्धता पुरा हुनेमा आफुहरु ढुक्क रहेको बताउँनुभयो ।

सिधा सवारी सञ्चालन नहुँदा सामान्य काम देखि बिरामी भई बाहिर उपचारमा लैजानको लागि अत्यान्त समस्या हुनेगरेको माप्यदुधकाेशी गाउँपालिका ६ र ७ का वडा अध्यक्षा दिनेश कुमार राई र सगुजित राईले गुनासाे गर्दै थप सहयाेग र सहजीकरणा गर्न माग गर्नुभयाे ।