प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले युवा दस्ता सार्वजानिक गर्ने

प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले आज विराटनगरमा युवा दस्ता सार्वजानिक गर्ने भएको छ ।

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नामकरण गर्न चलिरहेको आन्दोलनलाई थप सशक्त बनाउने उदेश्यले ‘पहिचानको लागि युवा’ संगठनलाई सार्वजनिक तथा प्रदर्शन गर्न लागिएको हो ।

कार्यक्रम संगम होटलबाट निस्केर रोडषेश चौकदेखि प्रदेशसभाको कार्यालय हुँदै जनआन्दोलन चोकमा पुगेर कोण सभामा परिणत संघर्ष समितिका सदस्य अर्जुन जम्नेली राईले जनाएका छन् ।

कोणसभामा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुम लुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लगायतले सम्बोधन गर्ने सदस्य राईले जानकारी दिए । त्यसैगरी संघर्ष समितिले आगामी १४ गते विराटनगरमा वृहत्त जनप्रदर्शन गर्ने भएका छन् ।

उक्त दिन प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेपछि प्रदेशको नामाकरणप्रति असन्तुष्टि आन्दोलनरत पहिचानवादी पक्षधरहरुले विराटनगर केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका हुन् ।

आफ्नो माग प्रदेशसभाबाटै सम्बोधन गर्न सम्भव भएकाले प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेको किरात याक्थुम चुम्लुङका अध्यक्ष येक्तेनले बताएका छन् ।

‘प्रदेशसभाबाटै निर्णय हुने विषय हो नाम’, उनी भन्छन्, ‘त्यसलाई (नामाङ्कनको निर्णय) सच्याउन पहल नगरी र अर्काे प्रदेशसभा बोलाएका कारण विरोध जनाउन शान्तिपूर्ण प्रदर्शन गर्छाैं ।’

आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने प्रयोजनका लागि १४ जेठमा प्रदेशसभाको बैठक आह्वान गरिएको छ । यही मौका पारेर आन्दोलनरत पक्षले पनि प्रदेशसभा केन्द्रित विरोध कार्यक्रम घोषणा गरेका छन् ।

गत १७ फागुनमा प्रदेशको नामकरण कोशी राखिएपछि पहिचान पक्षधर दल र जातीय संस्थाहरुले पुनः नामाकरणको मागसहित आन्दोलन गरिरहेका छन् ।
आन्दोलनकै क्रममा गत ५ चैतमा घाइते भएका पदम लिम्बु लाजेहाङको उपचारका क्रममा १० चैतमा निधन भइसकेको छ ।
लिम्बूको निधनपछि पहिचान पक्षधरले प्रदेश सांसद, मन्त्री र मुख्यमन्त्रीलाई जिल्ला जान अवरोध गरिरहेका छन् ।

आन्दोलनकै क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की, माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, एमाले संसदीय दलका उपनेता राम राना लगायत नेतामाथि आक्रमणको प्रयास भएको थियो । आक्रमणकै कारण नेताहरु जिल्ला जान छोडेका छन् ।

त्यसो त आन्दोलन चर्किएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ ।
‘‘कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथाशक्य सम्बोधन गर्न हुन ध्यानाकर्षण गराउँदछौं’, कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाम राख्नैपर्ने भएकाले साझा सहमतिमा कोशी नामकरण गरिए पनि अब प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ ।
तर अहिलेसम्म प्रदेश सरकारले आन्दोलनरत पक्षसँग वार्ताको पहलमा चासो समेत देखाएका छैनन् ।

आन्दोलनकै कारण तीन पहिनादेखि मुख्यमन्त्री कार्की पछिल्लो समय राजधानी विराटनगरमा बाहेक अन्तकही कतै जान सकेका छैनन् ।
पहाडी जिल्लामा तय भइसकेको कार्यक्रममा समेत उनी जान कसेका छैनन् ।