थुलुङ दुधकोशीमा समावेशी शिक्षा तथा अपाङ्गता पहिचान सम्बन्धी तालिम सुरु

सोलुखुम्बु । गैह्र सरकारी संस्था रिड नेपालले थुलुङ दुधकोशी गाउँपालिकामा समावेशी शिक्षा तथा अपाङ्गता पहिचान सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ । विद्यालय व्यवस्थापन र प्रधानाध्यापकहरुकोे क्षमता अभिवृद्धी गर्ने उदेश्यले तालिमको आयोजना गरिएको रिड नेपालको शिक्षा विकास संयोजक केसवदेव गिरीले जानकारी दिनुभयो।

थुलुङ दुधकोशी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राईले गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष राईले विद्यालय सुधारको मुख्य जिम्मेवारी प्रधानाध्यापकहरुको रहेको बताउनुभयो।

सकारात्मक सोचका साथ प्रधानाध्यापकहरु जिम्मेवार बन्न सकेमा सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। मानव मस्तिष्कको बौद्धिक क्षमता तथा प्रकारको बारे लामो व्याख्या गर्दै अध्यक्ष राईले अन कन्सेस माइन्डलाई सक्रिय बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष महेन्द्रदीप राई, शिक्षा शाखा प्रमुख गणेश गुरुधामीले शुभकामना मन्तव्य राख्नु भएको थियो। यस्तै कार्यक्रमको उद्देश्य माथि रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले प्रकास पार्नु भएको थियो।

पालिका भित्रका ४३ ओटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण रामलाल धामीले गरिरहनु भएको छ । रीड नेपालले यसअघि खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका आफुले काम गरिरहेका ८५ ओटा विद्यालयका प्रधानाध्यापकहरुलाई यस्तै प्रकृतिको तालिम सञ्चालन गरिसकेको छ।