चम्पादेवीका ४ दर्जन भन्दा बढी मानिस पहिरोका कारण विस्थापित

ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ विलन्दुका ४ दर्जन भन्दा बढी मानिस पहिरोका कारण विस्थापित भएका छन् । विहिबार राति परेको वर्षाका कारण गएको पहिरोले विलन्दुका ३४ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

उनीहरुलाई नजिकै रहेको एक विद्यालयमा स्थान्तरण गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक बहादुर केसीले जानकारी दिनुभयो । २०७२ सालको भूकम्पका कारण गाउँ भन्दा माथिको भू–भाग चर्किएको र सोही स्थानबाट पहिरो सुरुभएको स्थानीयले बताएका छन् ।

सोही पहिरोमा परी बिहिबार राती एकैपरिवारको ४ जनाको ज्यान गएको थियो । चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षिय रणबहादुर गुरुङको घर पहिरोले भत्काउदा रण बहादुरसँगै उहाँकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, १० वर्षिय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो ।