सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा,पार्टीको झण्डा २ दिन झुकाउने

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुले पार्टीका केन्द्रीय सल्हाकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलीसभा आयोजना गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीताको निधनप्रति विहिबार सल्लेरी स्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

पार्टीको केन्द्रीय सर्कुलर अनुसार जिल्ला सचिव नाम्गेल शेर्पाको नेतृत्वको सभाको आयोजना गर्दै दुई दिन पार्टीको झण्डा झुकाउने वाइसीएलका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज रश्विन मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टी सचिव नाम्गेल शेर्पासहित प्रदेश कमिटी सदस्यहरु रिमा कुलुङ, मेनुका पुरी ‘झरना’ सुनिता कुलुङ, थुलुङ दुधकोशी गाउपालिका कमिटी अध्यक्ष राम संघर्ष किराँती, सहिद परिवारका नेता लोकेन्द्र आरसी, सोलुदुधकुण्ड नगरकमिटी उपाध्यक्ष धनराज तामाङका साथै अन्य जिल्ला कमिटी सदस्य नगर पदाधिकारी, नगर, गाउँपालिका कमिटी सदस्यहरु साथै अन्य टिम सहितको उपस्थितिमा रहेको इन्चार्ज मगरले बताउँनुभयो ।

लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी सीताको बुधबार ६९ वर्षको उमेरमा बिहान ८ बजेर ३३ मिनेटमा काठमाण्डौँको नर्भिक अस्पतालमा निधन भएको थियो । उहाँ पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो ।