रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो । रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले रातोपाटीलाई भने, ‘मंसिरबाट महाधिवेशनको चरणमा प्रवेश गर्छौँ । सुरुमा हाम्रो वडा अधिवेशन हुन्छ । त्यसपछि पालिका अधिवेशन हुन्छ ।’

पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका बुर्लाकोटीका अनुसार पालिका अधिवेशनले प्रदेश र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने छ । पालिकाभित्रका साधारण सदस्यले महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनको भनाइ छ । बुर्लाकोटीका अनुसार गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जनाका दरले महाधिवेशन प्रतिनिधि छनोट हुनेछ । यसरी ७५३ पालिकाबाट १ हजार ६९ जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

जस अनुसार ६ वटा महानगरपालिकाबाट २४ जना, ११ वटा उपमहानगरपालिकाबाट ३३ जना, २७६ वटा नगरपालिकाबाट ५५२ जना र ४६० गाउँपालिकाबाट ४६० जना प्रतिनिधि छानिने छन् ।‘अहिलेसम्म प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छुट्याइएको छैन । महाधिवेशन प्रतिनिधिले नै सम्बन्धित प्रदेशको नेतृत्व चयन गर्नुहुन्छ,’ बुर्लाकोटीले भने । रास्वपाले केन्द्रीय सभापतिको चयन पार्टी सदस्यबाट गर्ने बताउने गरेको छ । तर पहिलो महाधिवेशनमा प्रतिनिधिबाट चयन गर्ने सम्भावना रहेको उनी बताउँछन् ।

‘हाम्रो स्प्रिटचाहिँ साधारण सदस्यको मतदानबाट सभापति चयन गर्ने भन्ने हो । तर डकुमेन्टमा महाधिवेशन प्रतिनिधिले चयन गर्ने भन्ने छ,’ बुर्लाकोटी भन्छन्, ‘सोही अनुसार नै नेतृत्व चयन गर्ने गरी अगाडि बढेका छौँ । उनका अनुसार साधारण सदस्यले पनि भोट हाल्ने व्यवस्थाका लागि डिजिटल सिस्टम त्यति राम्रो बनिसकेको छैन । पहिलो महाधिवेशन भएकाले रास्वपाले सर्वसम्मत नेतृत्व चयनका लागि जोड गर्ने छ ।

‘अधिकांश ठाउँमा सहमतिको खोजी हुन्छ । तर, केन्द्रीय वा प्रदेश नेतृत्वबाट टीका लगाउने अभ्यास हुँदैन,’ बुर्लाकोटीले भने, ‘पालिका र वडा तहमै रहेका साथीहरुबीच सहमतिको प्रयास हुन्छ ।’ अहिले पनि सोही अनुसार वडा र पालिका कमिटी निर्माण भइरहेको उनको भनाइ छ ।

भदौमा बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनको तालिका र मोडालिटीबारे प्रस्ताव लैजाने रास्वपाको तयारी छ । ‘कार्यतालिका र मोडालिटी केन्द्रीय समितिले टुङ्ग्याउने कुरा रह्यो । वडा अधिवेशन प्रदेशगत सुरु गर्ने कि भन्ने छ,’ उनी भन्छन्, ‘हामी नयाँ पार्टी भएकाले एकै पटक वडा अधिवेशन गर्दाको जोखिम विश्लेषण गर्नुपर्ने हुन्छ । प्रदेशगत रुपमा सुरु गरेर जाने कि भन्ने पनि छ । वडाको पनि कसरी गर्ने ? हाम्रो पहल कति लाग्छ ? एउटा विधि अपनाउनुपर्छ होला ।’

बुर्लाकोटीका अनुसार पहिला सबै पालिकाको एक नम्बर वडाको अधिवेशन गर्न सामान्य खाका बनेको छ । त्यसैगरी अरु वडाको पनि अधिवेशन हुने उनले बताए । ‘यसरी अधिवेशन गर्दा हामीलाई केही समय लाग्छ । वडा अधिवेशनका लागि एक महिना राखेर पालिका अधिवेशन प्रारम्भ गर्ने तयारी छ । त्यसपछि प्रदेश अधिवेशनमा जान्छौँ होला,’ बुर्लाकोटीले भने ।

उनका अनुसार साउनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ । कार्यसम्पादन समितिले पास गरेको एजेण्डामाथि छलफल गर्न भदौमा रास्वपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।

वडादेखि प्रवाससम्म संगठन विस्तार

रास्वपामा वडा तहदेखि क्रमशः स्थानीय तह, संघ÷प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म प्रतिनिधि चुनिने व्यवस्था गरिएको छ । करिब १ हजार वडामा संगठन विस्तार भइसकेको रास्वपाको दाबी छ । वडा र पालिका दुवैको आकार ११ सदस्यीय छ । ७ सय ५३ मध्ये करिब २ सय ९० पालिकामा समिति बनाइएको बुर्लाकोटी बताउँछन् । जसमा सभापति, उपभापति, सचिव, कोषाध्यक्षसहित सदस्य रहने व्यवस्था छ । पार्टी सदस्यहरुको भेलाबाट वडा र पालिका कमिटी गठन गर्ने गरिएको छ ।

‘पार्टीका सदस्यको भेला हुन्छ । पार्टीको समसामयिक कुरामाथि छलफल हुन्छ । त्यसपछि कमिटीमा बस्न इच्छुक साथीहरुले आवेदन दिनुहुन्छ,’ उनी भन्छन्, ‘आवेदन दिनेको संख्या धेरै भयो भने छलफल गरेर टुङ्ग्याइन्छ । छलफलबाट पनि टुङ्गिने अवस्था भएन भने मतदानमा जाने गरेका छौँ ।’बुर्लाकोटीका अनुसार असोजसम्म देशभरका सबै वडा र पालिकामा कमिटी गठन गरिसक्ने रास्वपाको लक्ष्य छ । पालिकासम्मै विभिन्न विभाग पनि राखिएका छन् । १ सय ६५ मध्ये १ सय ५४ निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र समिति गठन भइसकेको रास्वपाले जनाएको छ ।

७७ मध्ये ७४ जिल्लामा जिल्ला समिति बनेका छन् । डोल्पा, हुम्ला र रुकुम पश्चिममा जिल्ला संयोजक र सहसंयोजक तोक्न बाँकी रहेको बुर्लाकोटीले बताए । रास्वपाले जिल्लामा अन्य पदाधिकारी रहने व्यवस्था गरेको छैन भने निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति हुने सांगठनिक संरचना छ ।

रास्वपाले सातै प्रदेशमा प्रदेश समिति गठन गरिसकेको छ । रास्वपाले कोशीमा राजेश तिम्सिना, मधेशमा तपेश्वर यादव, बागमतीमा अचुतम लामिछाने, गण्डकीमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमा धिरजबहादुर वली र सुदूरपश्चिममा प्रकाश विष्टलाई सभापति बनाएको छ ।

बुर्लाकोटीका अनुसार कर्णालीमा ३०, बागमतीमा ८०, सुदूरपश्चिममा ४०, कोशीमा ५७, मधेशमा ७७, लुम्बिनीमा ३६ र गण्डकीमा ४६ सदस्यीय प्रदेश समिति बनेको छ । प्रदेशस्तरमा ३३ विभाग पनि गठनको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ ।

प्रदेशभित्र रहेको निर्वाचन क्षेत्रको संख्याअनुसार प्रदेश समितिको संख्या यकिन गरेको छ । प्रदेश निर्वाचन क्षेत्रबाट अनिवार्य रूपमा प्रतिनिधि चयन हुने गरी संघीय निर्वाचन क्षेत्र समिति बन्छ । त्यही समितिका आधारमा प्रदेश समिति बनाउने रास्वपामा व्यवस्था छ ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट केन्द्रीय सदस्य थप्ने रास्वपाको तयारी छ । केन्द्रमा ३६ विभागको गठन र जिम्मेवारी बाँडफाँट भने भइसकेको छ ।

केन्द्रमा लेखा, अनुशासन, विवाद समाधान र निर्वाचन आयोग रहने व्यवस्था गरिएको छ । यस्तै रास्वपाले विदेशमा पनि संगठन विस्तार गरिरहेको छ । प्रवासी नेपाली समन्वय विभागका रूपमा विभिन्न देशमा कमिटी गठन भइरहेका छन् । बुर्लाकोटीका अनुसार अहिलेसम्म मलेसिया, दुबई, कतार, साउदी, जापान, कोरिया, युके र अमेरिकामा विभाग गठन भइसकेका छन् । बाँकी देशमा पनि गठन हुने क्रममा छ ।

विदेशमा रहेकाहरुले आफ्नो पासपोर्ट अपलोड गरेर अनलाइनबाटै सदस्यता लिन सक्ने व्यवस्था छ । उनका अनुसार विदेशमा रहेका पार्टी सदस्यले पनि संगठनको आन्तरिक निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । पार्टी समिति चुन्दा ३३ प्रतिशत महिला र ५१ प्रतिशत ४५ वर्षमुनिका युवा हुनुपर्ने प्रावधान राखिएको छ । अहिलेसम्म साढे ३५ हजारले रास्वपाको सदस्यता लिसकेका छन् । सदस्यताका लागि डेढ लाखले दिएको आवेदन रुजुको प्रक्रियामा रहेको रास्वपाले जनाएको छ । यस्तै २७ हजार ४ सय ३६ जना रास्वपाको साधारण सदस्य बनिसकेका छन् ।