सोलुखुम्बुमा झण्डै एक दर्जन औषधी पसलमा अनुगमन,लाखौँको औषधी जफत

हिमाली जिल्ला सोलुखुम्बुमा एकैपटक झण्डै एक दर्जन औषधी पसलमा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले सोमबार सदरमु्काम सल्लेरी, फाप्लु, नेले र नाम्चेका गरी ११ वटा औषधी पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनबाट म्याद नाघेका करिब डेढ लाख मुल्य बराबरको औषधी जफत गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी(सिडिओ) बसन्त भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय औषधी पसलहरुमा फार्मेसी अध्ययन नगरेका व्यक्तिहरुले औषधी बिक्री गरिरहेको, फार्मेसी दर्ता नभएको तथा लाईसेन्स विना नै औषधी बिक्री गरिरहेको पाइएको छ ।

ति औषधी पसलहरुलाई कागजात पुरा गर्न एक हप्ताको अल्टिमेटम दिइएको छ । सो अवधिमा पनि मापदण्ड पुरा नगरे कानुन अनुसार कारबाही प्रकृयामा जाने सिडिओ भट्टराईले बताउँनुभयो । नेले क्षेत्रको एउटा औषधी पसलले संस्था दर्ता गरेर औषधी बिक्री गरिरहेको समेत अनुगमनमा भेटिएको छ ।

केहि फार्मेसीहरु भने अनुगमनको समयमा बन्द रहेको थियो । औषधीजस्तो विषयमा अतिसंवेदनशिल हुनुपर्ने भएकाले कसैमा पनि क्यरलेस गर्ने छुट नभएको सिडिओ भट्टराईको भनाई फार्मेसी अनुगमनमा जिल्ला स्थित स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, नगरपालिका, नेपाल प्रहरी, अनुसन्धान, नगरप्रहरी, सञ्चारकर्मी लगायतका प्रतिनिधिहरु सहभागी थिए ।