विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्युपछि गाउँ नै शोकमा

मुस्ताङको थसाङमा दुर्घटना भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारका सात जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मिथिला नगरपालिका–११, लोटा गाउँका एकै परिवारका सात जना उक्त विमानमा सवार थिए । दुर्घटनामा उनीहरु सबैको मृत्यु भएको हो ।

पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि राजन गोलेले बुबा–आमा, काका–काकी र मामा–माइजुको सामूहिक फोटो खिचेर मोबाइलका माध्यमबाट घरमा पठाएका थिए । परिवारका सबै सदस्यहरूको बीचमा उभिएका राजन भने फोटोमा निकै खुसी देखिएका थिए । वृद्ध बुबाआमाका साथै परिवारका अन्य ज्येष्ठ सदस्यलाई मुक्तिनाथको दर्शन गराउन लैजाँदै गरेको खुसी राजनमा देखिन्थ्यो । विमान चढ्नुअघि उनले घरमा दिदीहरू शान्ति र कान्तिलाई फोन गरेर अब विमान जोमसोमका लागि उड्यो भनेर जानकारीसमेत गराएका थिए ।

अकस्मात बनेको थियो जोमसोम जाने योजना

स्थानीय तह निर्वाचनको मतगणना चलिरहँदासम्म राजन गाउँमै थिए । त्यतिबेलासम्म उनले मुक्तिनाथ दर्शनका लागि जाने योजना बनाइसकेका थिएनन् । बरु उनी काठमाडौं जाने योजनामा थिए । काठमाडौंको गोकर्णेश्वरमा लामो समयदेखि बस्दै आएका उनी निर्वाचनका लागि गाउँ गएका थिए । मतगणना सकिएपछि उनी बाबुआमासहित काठमाडौं फर्किएका थिए । श्रीमती दीपा सुवेदी, १४ वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर राजन आफ्ना बुबा–आमा, काका–काकी र मामा–माइजुलाई लिएर मुक्तिनाथ दर्शनका लागि हिँडे ।

दीपा भने केही दिनअघिमात्र पोखराबाट फर्किएको र बच्चाहरू स्कुल जानुपर्ने भएकाले मुक्तिनाथ दर्शनका लागि गइनन् । राजनका भाइ–बुहारी भने अस्ट्रेलियामा रहेको कान्ति तामाङले बताइन् । राजन नेकपा एकीकृत समाजवादी धनुषाका जिल्ला सदस्य एवं मधेस प्रदेशका मन्त्री शत्रुधन महतोको सचिवालय सदस्यसमेत थिए ।

जब विमान सम्पर्कविहीन भएको खबर आयो

राजनले विमान उडेको जानकारी दिएको केही बेरपछि विमान सम्पर्कविहीन भएको खबर प्रकाशनमा आयो । जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलिएसँगै राजनकी पत्नी दीपा आत्तिइन् । राजनका दिदीहरू पनि उक्त खबर सुनेर स्तब्ध भए । राजन र उनको मामाको लोटास्थित घरमा छिमेकीहरू पुग्न थाले । परिवारका सदस्यहरूलाई उनीहरूले सान्त्वाना दिइरहे ।

दीपाले मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोलाई पनि फोनबाटै सम्पर्क गरिन् । मन्त्री महतोका अनुसार उनले आइतबार बिहान ११ बजेतिर मन्त्रालयमा रहेका बेला पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको जानकारी पाएका थिए । सम्पर्कविहीन भएको जहाजमै राजन र उनका परिवारका सदस्यहरू पनि रहेको आफूले थाहा पाएको उनले बताए ।

गाउँमा पक्की घर बनाएका थिए राजनले

राजनले गाउँमा पक्की घर बनाउन लगाएका थिए । बुबाआमालाई काठमाडौंमै राख्दै आएका उनले गाउँमा आउँदा सुविधासम्पन्न घरमा बुबाआमालाई सहज हुने भनेर उनले पक्की घर बनाउन लगाएका थिए । दुई तले पक्की घरमा पेन्टिङको काममात्र बाँकी थियो । विमान दुर्घटनासँगै नयाँ घरमा बाबुआमालाई राख्ने उनको सपना पनि साकार हुन सकेन ।