Breaking News Post

जेनजी आन्दोलनपछि संसद् विघटन,संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको छ : प्रचण्ड


३ आश्विन २०८२, शुक्रबार ००:००


काठमाडौँ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको खुलासा गरेका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको बताए । उनले राष्ट्रपति पौडेल निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन सफल भएको भन्दै बधाई समेत दिए ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार ००:००