गृह पृष्ठ

श्रवण साहले भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार


७ आश्विन २०८२, मंगलबार ००:००


विराटनगर महानगरपालिका–९ मा एक व्यक्तिले भाउजूमाथि एसिड प्रहार गरेका छन् । स्थानीय २५ वर्षीय छोटु भनिने श्रवण साहले २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरेका हुन् । प्रहरीका अनुसार घटना सोमबारको हो ।

एसिड प्रहारबाट घाइते महिलाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त छ । प्रहरीका अनुसार भाउजुमाथि एसिस प्रहार गर्नका लागि देवरले वियरको बोतलमा एसिड लिएर आएका थिए ।

दाजु घरमा नभएको मौकामा उनले भाउजुमाथि एसिड प्रहार गरेका थिए । अनुहारमा प्रहार गरेको एसिड रोक्ने क्रममा महिलाको हात र शरीरका अन्य भागमा लागेको छ । उनले लगाएको सल एसिडले जलेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा लेनदेन विवादमा महिलामाथि एसिड प्रहार भएको खुलेको छ ।

मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुँडालले एसिड प्रहार गर्ने श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् । घरायसी विवादमा एसिड प्रहार भएको बताउँदै उनले घाइते महिलाको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ ।

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार ००:००