सिलुछो दर्शनसँगै सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुपाको प्रतिमा अनावरण हुने

काठमाडौं,

“साल्पा सिलिचुङ/सिलुछो मुन्दुमको प्राण
पर्यटन बिकास र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ साल्पा सिलिछो गाउँपालिका भोजपुर र साल्पा सिलिचुङ/सिलुछो सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको संयुक्त आयोजनामा साल्पा सिलिचुङ/सिलुछो दर्शनसँगै सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुपाको प्रतिमा र किराँती धामी बिजुवा नोक्छो/नोक्छोङ पार्क २०८१ वैशाख ६ र ७ गते कुलुपोङखो र साल्पा पोखरीको बीचमा रहेको माबु बजारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पुर्वमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यतामा अनावरण कार्यक्रम हुने भएको छ ।

 

साल्पा सिलिचुङ/सिलिछो परियोजना अन्तर्गत पहिलो चरणको अनावरण गर्ने कार्यक्रममा किरात जन्य विभिन्न संघ संस्थाको प्रतिनिधिहरु, कलाकारहरु, लेखक तथा साहित्यकारहरु, इतिहासविद पू्र्खाहरु, पत्रकारहरु साथै विश्वभर छरिएर बसेका सम्पुर्ण किरातीहरुलाई सोहि कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा पत्र पठाइसकिएको अन्तराष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले जानकारी दिएका छन् ।

 

के हो साल्पा-सिलुछो/सिलिचुङ ?
किरातीहरुको मुन्दुम अनुसार साल्पा-सिलिचुङ/सिलुछो पवित्र मुन्दुमी स्थल साथै मुन्दुम मान्ने विश्वभरका किरातीहरुको निमित्त एक पवित्र धार्मिक तथा साँस्कृतिक स्थल मान्ने गरिन्छ । मुन्दुम अनुसार किरातीहरुको आदिम पुर्खाहरु रिकापा-रिभ्यामा, साल्पाहाङ-रिब्रिहाङमा/रिब्रिमा त्यस्तै कुलुङ मिथक अनुसार खालिङको पुर्खा माप्य कुलुङको पुर्खा छेम्सी, राताप्खु र ताम्सी जस्ता आदिम पुर्खाहरुको साल्पा सिलिचुङ/सिलुछो आदिमथलो अर्थात् बासस्थान गरेको मुन्दुमी जनविश्वास रहेको छ । त्यसैले, किरातीहरुको साँस्कृतिक नायकहरु/संस्कृतिविद नोक्छो, नछुङ, माङ्पा, नागिरे, सेलेमोप, दे:मोप, मोबोछा, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, समग्रमा धामी बिजुवाहरु वर्षेनी मुन्दुमी शक्ति आर्जन गर्नको लागी (Mundumi Ritual Journey) मुन्दुमी यात्राको निमित्त साल्पा-सिलिचुङ/सिलुछो जाने गर्दछन ।

 

 


हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का-मदिना, बुद्धिष्टहरुको लुम्बिनी महत्त्वपूर्ण भएजस्तै किरातीहरुको साल्पा सिलिचुङ/सिलुछो अत्यन्तै महत्वपुर्ण पवित्र मुन्दुमी स्थल तथा किरात धार्मिक तथा साँस्कृतिक स्थल, किरात साँस्कृतिक सम्पदा (Kirat Cultural Heritage) को रुपमा मान्न सकिन्छ l तसर्थ, किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा साँस्कृतिक स्थल साल्पा-सिलिचुङ/सिलुछोलाई संरक्षण र प्रवर्द्धन गर्न साथै सुम्निमा-पारुहाङ/नीनामरीदुम-पारुपाको प्रतिमा, विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा तथा चिण्डो आकारको गेट निर्माणसँगै (मुन्दुम/रीदुम संग्रहालय) समेत निर्माण गरेर साल्पा सिलिचुङ/सिलुछोलाई किरात साँस्कृतिक सम्पदाको रुपमा स्थापना गर्नका लागि देश विदेशमा आर्थिक संकलन हुने कार्य तीब्र भइरहेको समितिका अध्यक्ष मुलघरे कान्छाले जनाएको छ ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिले यस पवित्र ऐतिहासिक महाअभियानलाई सफल बनाउन आर्थिक संकलन उपसमिति, अध्ययन अनुसन्धान उपसमिति, दर्ता उपसमिति र प्रचारप्रसार विभाग उपसमिति गठन गरी संसारभरका सारा किराती दाजुभाइ दिदीबहिनीहरु, किरात जन्य संघ-संस्थाहरु साथै साँस्कृतिक रुपमा सचेत किराती तथा गैर-किराती नेपालीहरुलाई सहयोग र समर्थनको लागि अपिल गरिरहेको छ ।

 

काठमाडौंबाट साल्पा जाने मार्गहरु :
रुट नं. १, गाडीमा काठमाण्डौबाट सोलु महाकुलुङ गुदेलसम्म १ दिन, महाकुलुङ गुदेलदेखि ८ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । हवाईमार्ग मार्फत काठमाण्डौबाट सोलु फाप्लुमा झरेर फाप्लुदेखि महाकुलुङ गुदेलसम्म गाडीमा ५ घन्टामा पुगिने । महाकुलुङ गुदेलदेखि ८ घण्टामा साल्पा पुगिने ।
रूट नं. २, हवाईमार्ग मार्फत काठमाण्डौबाट संखुवासभा तुम्लिङटार झरेर तुम्लिङटारबाट गाडीमा तेन्दो फेदी हुँदै चेक्सिलासम्म १ दिन, चेक्सिलादेखि ३ घण्टा पैदल यात्रा । नेपालको पुर्वी क्षेत्रबाट साल्पा जाने मार्गहरु :
रुट नं. १, गाडीमा धरानदेखि संखुवासभा तुम्लिङटारसम्म ६ घन्टा, तुम्लिङटारदेखि कार्तिकेघाटसम्म २ घन्टा, कार्तिकेघाटदेखि फेदी चेक्सिलासम्म ८ घन्टा । र, चेक्सिलादेखि ३ घन्टा पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने ।
रुट नं. २, गाडीमा धरानबाट भोजपुर चखेवा भञ्ज्याङ १ दिन, चखेवा भञ्ज्याङ्देखि मुन्दुम पदमार्ग हुदै २ दिन पैदल यात्रा, जम्मा ३ दिनमा साल्पा पुगिने । रुट नं. ३, गाडीमा धरानदेखि उदयपुर कटारी, घुर्मी हुँदै खोटाङको केपीलासगढीसम्म १ दिन, केपिलासगढी सुङ्देलबाट पुरै १ दिन पैदल यात्रा । जम्मा २ दिनमा साल्पा पुगिने । अनावरण कार्यक्रममा विश्वभरिका करिब ५ सय किरातीहरुको उपस्थिति रहने अनुमान गरिएको छ ।