मुख्यमन्त्री राईले यही माघ ११ गते ‘मिस मंगोल नेपाल’ शेर्पासँग विवाह गर्ने

काठमाडौं, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँकाे सचिवालयले जनाएको छ । उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ ।

काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसार उहाँ शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै हुनुहुन्छ । मुख्यमन्त्री राईले यही माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह गर्ने मिति तय भएको हो ।

यही माघ ११ गते काठमाडौंमा नेकपाका सीमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच मुख्यमन्त्री राईले विवाह गर्न लागेको उनको सचिवालयले पुष्टि गरेको छ । मोडलिङ्ग र सामाजिक काममा सक्रिय शेर्पाका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा हाल काठमाडौंमा बस्छिन् ।

११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन्। २७ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।