कविता : ✍️ लिला सेलिङ माबो
यो रक्तरङ्गिन जुत्ता र Gen
यो रक्तरङ्गिन जुत्ता
सिर्फ जुत्ता होइन,
यो क्रान्तिको ढोल हो—
जनताको पैतालाबाट निस्किएको
न्यायको गर्जन हो।
नेपालको इतिहासमा
४८ घण्टामै सत्ता ढाल्ने
साहसी Gen Z आन्दोलनको छाप हो।
यो जुत्ता
प्रेस स्वतन्त्रताको घाँटी थिचिँदा
आवाज बनेको छ,
फिल्मको पर्दा च्यातिँदा
नाङ्गो सत्य बनेको छ।
सडकमा ढलेका युवाको रगतसँग
रुँदै बोल्छ,
“आइया” भन्न नपाई
गोलीले भुइँमा ढालेका आत्मासँग
साथी बनेर हिँड्छ।
यो जुत्ता
संघीय गणतन्त्रको नीलो आकाशमुनि
मकैझैँ बर्षिएका गोलीहरूको प्रमाण हो।
आमाबाबुका रित्तिएका काख
र आँसुका नदीसँगै बगेको इतिहास हो।
भ्रष्टचारी र घुसखोरले लुकाएको
कालो धनको पर्दाफासको झिल्का हो।
सिंहदरबार जले पनि
कालो धन नजल्ने रमितामाथि
जनताको हाँसो हो।
यो जुत्ता
सीमाङ्कन, नामाङ्कन
र मुकुम्लुङ माङ माथि
गरिएका अतिक्रमणविरुद्धको प्रतिकार हो।
युवासहीदका अधुरा सपना
पूरा गर्ने वाचा हो।
नेपाल आमाको मुटु च्यातिएको
रगत बगेको चेतावनी हो।
र त्यसैले—
यो रक्तरङ्गिन जुत्ता
कहिल्यै मौन हुँदैन,
कहिल्यै हराउँदैन।
आगामी पुस्ताका पदचापमा
फेरि–फेरि गुञ्जिरहन्छ,
आन्दोलनको स्वरमा पुनः उठ्छ,
र भन्छ—
“जनताको शक्ति कहिल्यै हार्दैन।”
प्रतिक्रिया