✍ अजय अलङकार कुलुङ
विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार भूमिमा पर्यटकको भारी बोक्दा–बोक्दै अन्तराष्ट्रिय खेलाडी बनेका हुन् अर्जुन कुलुङ । उनको जन्म वि.सं.२०५१ साल चैत्र १५ गते बुवा उमेन्द्र कुमार पिदिसै कुलुङ र आमा आस माया खालिङको कोखबाट माइलो सन्तानको रुपमा नेपालको पूर्वी क्षेत्र सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं.१ स्थित बुङ भन्दा निक्कै माथि मुलखर्क-चोक्लोदु भन्ने ठाउँमा गोठमा भएको हो। मुलखर्क-चोक्लोदू समुन्द्री सतहदेखि करिब २६०० मिटरको उचाईंमा रहेको छ । निम्न मध्यम वर्गीय सामान्य परिवारमा जन्मेका अर्जुन कुलुङ सानै उमेरदेखि छुकछुके र चकचके स्वभावका थिए। उनका तीन जना दाजुभाइ र चार जना बहिनीहरु रहेका छन् । घरमा कहिल्यै दालभात खाने अवस्था नभएको कारण जहिल्यै गुन्द्रुक र ढिडो खाएर सामान्य गाउँले जीवन गुजारा गरेका अर्जुनको परिवारमा राम्रो लुगा र खुट्टामा जुत्ता लाउन पाउनु समेत ठुलो चुनौतीको विषय थियो।

अन्तराष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङले आफ्नो बाल्यवस्था निकै दुख, कस्ट र अभावापूर्ण तरिकाले बिताएका थिए। चरम गरिबी र घरको आर्थिक अवस्थाकै कारण उनले सगरमाथा माध्यमिक विद्यालय बुङबाट प्राथमिक तहसम्म मात्र अध्ययन गरि सदाका लागि आफ्नो औपचारिक शिक्षामा पूर्णविराम लगाएका थिए। हुने बिरुवाको चिल्लो पात भने जस्तै अर्जुन सानै उमेरदेखि दौडिनमा साह्रै खप्पिस थिए। कहिले गोठमा गाई वस्तुसँग दौडीन्थे त कहिले साथीहरुसँग डण्डीबियो खेल्दा दौडिन्थे। कहिले अबेरसम्म खेल्दाखेल्दै आमाले बोलाएपछि दौडिन्थे त कहिले स्कुल जाँदा र फर्किदा दौडिन्थे। कठिन भन्दा कठिनपूर्ण बाल्यकाल गुजारेका अर्जुन कुलुङले आमाबुवालाई खेती किसानीमा सघाउनुका साथै आफ्ना सात जना भाइबहिनीको हेरचाह गर्नमा सहयोग गरेका थिए। एघारौँ वर्षको कलिलो उमेरमा गाउँदेखि करिब पाँच दिनको बाटो खाली खुट्टा हिडेर मेरा ब्यासक्याम्पसम्म उनि आफ्नो दाजु प्रमिश र आमाको साथमा एक गिलेन रक्सी बोकेर पुर्याएका तीतो अनुभव समेत अर्जुनसँग जिवीतै छ।

अर्जुनले आफ्नो औपचारिक शैक्षिक यात्रामा सदाका लागि पूर्णविराम लगाउदै बाह्र वर्षको कलिलो उमेरमै गाउँदेखि करिब चार दिनको बाटो हिडेर लुक्ला चौरीखर्कमा गएका थिए। त्यहाँ अर्जुनले एक वर्षसम्म घरेलु कामदारको रुपमा काम गरेका थिए। तेह्रौ वसन्तमा पाइला चाल्दै गर्दा ट्रेकिङको भारी बोकेर भरियाको काम गर्न सुरु गरेका अर्जुनले ट्रेकिङ नभएको बेलामा त्यहि मालिकको घरमै काम गर्दै समय बिताएका थिए। चौंध वर्षको उमेरदेखि उनले लगातार एघार बाह्र वर्षसम्म ट्रेकिङमा पर्यटकको भारी बोक्ने भरियाको रुपमा काम गरेका थिए।

ठुल्ठुला चुनौतीका अग्ला पहाडहरु सामना गर्दै सगरमाथा क्षेत्रमा पर्यटकहरुको भारी बोकिरहने क्रममा अर्जुनले एभरेस्ट म्याराथनमा दौडीरहेका अरु धावकहरु देखे । त्यसबाट, प्रभावित बनेका उनले आफ्नो दाजु प्रमिश कुलुङलाई मनको इच्छा व्यक्त गर्दै दौडिन मन भएको सुनाएका थिए। तर उनको त्यसबेलासम्म दौड सम्बन्धी न कुनै प्रशिक्षण थियो, न त कुनै दौडिने तालिम नै ? सिर्फ उसँग एभरेस्ट म्याराथन दौडिने एउटा मिठो सपना थियो र, उभित्र म पनि दौडिन सक्छु भन्ने एउटा जोस अनि हिम्मत थियो। एक्सपिडिसनको भारी बोकेर ओरालो झर्दै गरेका दाजुभाइले सन् २०१३ मा हुन लागेको एभरेस्ट म्याराथनमा अर्जुन पनि सहभागी हुने सल्लाह गर्छन्। त्यसपछि एक्सपिडिसनको भारी नाम्चेदेखी लुक्लासम्म एकैदिनमा पुर्याएर भोलिपल्ट नाम्चे फर्केका थिए।
उनले एभरेस्ट म्याराथन ६२ किलोमिटरमा नाम दर्ता गरि अर्जुन सोहि दिन नै सगरमाथाको आधार शिविर एभरेस्ट ब्यासक्याम्प पुगेका थिए। एभरेस्ट म्याराथन रेस ६२ किलोमिटरमा अर्जुनले भाग लिएका थिए। पहिलो पटकको सहभागितामै छैठौं स्थानमा परेपछि उभित्र झन् आत्मबल बढेकाे थियाे। मैले पनि दौडिन सक्ने रहेछु भन्ने हिम्मत पलाएका थिए। यहि क्षेत्रमा तालिम गर्न पाए केहि गर्न सकिन्छ कि भन्ने मिठो सपना बुन्न थालेका उनले काम गर्दै समय मिलाएर बेलाबखत ट्रेनिङ गर्दै दाैडिने तालिम गर्न सुरु गरेका थिए। जुन समय अर्जुन बिना प्रशिक्षण अरुको जुत्ता मागेर समेत दौडेका थिए।

सुरुमा अर्जुनसँग दौडिनका लागि एक जोर मात्र पुराना थोत्रो जुत्ता थियो। भिम दाइले दिनुभएको जुत्ता लगाएर धेरै दौडेका थिए। त्यो जुत्ता च्यातिदा पनि अर्जुनले पुन: सिलाएर दौडेका थिए। उनको लागि त्यो जुत्ता विशेष थियो। तेञ्जिङ हिलारी एभरेस्ट म्याराथन सन् २०१४ मा अर्जुन कुलुङ दोस्रोपटक पुनः सहभागी बने। जसमा उनले चौंथो स्थान प्राप्त गरेका थिए। त्यसपश्चात आफ्नै आर्थिक अभावको कारण अर्जुनले करिब पाँच वर्षसम्म कुनै पनि म्याराथनमा भाग लिन सकेनन्। सोहि समयावधिमा अर्जुन वैदेशिक रोजगारको लागि मलेसियासम्म पुगेर दुख गरेका थिए। सन् २०१९ मा उनले फेरी तेस्रोपटक एभरेस्ट म्याराथनमा सहभागी जनाए त्यतिखेर उनले दोस्रो स्थान हासिल गरेका थिए। सन् २०१९ देखि यता अर्जुनले पदमार्ग धावनमा अनागीन्ति थुप्रै चुनौतीहरुको सामना गर्दै आएका छन्। उसँग उचित पौष्टिक खानपान, दौडिने कला आदि विषयको ज्ञानको पनि अभाव थियो। कसरी तालिम गर्ने र तालिमबाट प्राप्त सुत्रहरुलाई कसरी व्यवस्थापन गर्ने, त्यसको समेत राम्रो ज्ञान थिएन। कयौं पटक पौष्टिक खानपानको व्यवस्थापन बिना नै अर्जुन दौडेका थिए।

अभ्यासले नै मान्छेलाई पूर्ण बनाउछ भनेजस्तै पटकपटकको अभ्यासले गर्दा सन् २०२२ र २०२४ को तेञ्जिङ हिलारी एभरेस्ट म्याराथनमा अर्जुनले सयौं प्रतिस्पर्धीलाई पछाडी पार्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए। विभिन्न खेलहरु खेल्दाखेल्दै अर्जुन कुलुङ विसं २०७१ सालमा काठमाडौं आएर प्रशिक्षण लिन सुरु गरेका थिए। काठमाण्डौमा उनि उनका साइला काका किताब सिङ्ग कुलुङसँग आश्रय लिएर बसेका थिए। अर्जुनले सोचेजस्तो काठमाण्डौले उनको जिवन कहिल्यै सरल रेखामा अगाडी बढाएनन्। दुख, पीडा र अभावै अभावको अजंग पहाड भोग्नु पर्यो। त्यसपछि अर्जुनले काठमाण्डौमा विभिन्न ज्यामी मजदुरी गर्न थाले। कहिले इनार खने त कहिले ढलान गरेका थिए। कहिले नयाँ घरहरुमा झ्यालढोका हाले त कहिले रोडहरुमा पाइप गाड्ने कामहरु गरेका थिए। सोहि सिलसिलामा उनका घनिष्ठ मित्र घनेन्द्र राईसँग भेट भएकाे थियो। सन् २०२१ मा सिन्धुपाल्चोक जिल्लामा आयोजित सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेस अन्तराष्ट्रिय पदमार्ग धावनमा भाग लिएपछि भने अर्जुनलाई जिमी ओस्टमले २/३ वटा खेलहरुमा केहि आर्थिक सहयोग प्रदान गएका थिए। जुन सहयोगले अर्जुनको जीवनमा एउटा महत्वपूर्ण मोड ल्याइदिएको थियो । अनेकौ संघर्षका बाबजुद पनि अर्जुनले विभिन्न दौडहरुमा सहभागी हुन कहिल्यै छाडेनन् जसको फलस्वरूप उनले 100 माइल अर्थात १६० किलोमिटरको मन्जुश्री ट्रेल रेस सन् २०१९, २०२२, २०२४ र सन् २०२५ को उपाधि जित्न सफल भए ।

मन्जुश्री ट्रेल रेस खेल्दै गर्दा विश्वभरिका निकै राम्रा खेलाडीहरुसँग प्रतिष्पर्धा गर्नुको अदभुत आनन्द समेत अर्जुनले बटुलेका छन्। सन् २०२२ नोभेम्बरमा मनास्लु ट्रेल रेस आयोजना भएको थियो। जुन रेसको उपाधि अर्जुन कुलुङले नै हात पारेका थिए। सोहि खेलको क्रममा नेपाल ट्रेल सिरिज कम्पनीका संस्थापक प्रिती खत्रीसँग पनि भेट भएको थियो। प्रिती खत्रीले अर्जुनलाई द नर्थ फेस एडभेन्चर टीमसँग जोड्ने काम गरेका थिए। मनास्लु रेसमा अर्जुनको प्रदर्शन देखेपछि उनको बायोडेटा बनाएर द नर्थ फेस एडभेन्चरलाई पठाएको थियो। त्यसपछि नर्थ फेस एडभेन्चरले अर्जुनलाई करिब दुइ वर्षसम्म प्रायोजन गरेको थियो। मनास्लु रेस नै अर्जुनको खेल जीवनको लागि कोसेढुंगा भएको मान्न सकिन्छ। उनले मनास्लु रेस जितेपछि अहिले अन्तराष्ट्रिय रेससम्म पुग्नका लागि बाटो खुलेको छ। अस्ट्रीयामा भएको वल्र्ड माउन्टेन ट्रेल रनिङ च्याम्पियनसिप २०२३ मा भाग लिन सहज भएको थियो। नेपाल बाहिर विश्व स्तरको म्याराथनमा भाग लिने अवसर भने सोहि अस्ट्रीयाको यात्राले अर्जुनको जीवनमा ढोका उघारेको हो।

जुन अन्तराष्ट्रिय म्याराथन दौडका लागि पहिलो पाइला साबित गर्दै अर्जुनले संसारभरिका थुप्रै मान्छेहरुसँग आफूलाई जोड्ने अवसर पाएका थिए जसमध्ये एनडी नामक विदेशी दाताबाट सन् २०२३ देखि केहि समयसम्म ट्रेनिङका लागि प्राविधिक सहयोग पाएका थिए। प्रायोजक पाएपछि अर्जुनलाई प्रशिक्षण लिन सजिलो भएको छ । अहिले ट्रेनिङको लागि साताभारीको तालिका बनाएर अभ्यास गर्ने गरेका छन्। पहिलाको ट्रेनिङ खाली कुद्ने मात्र थियो भने अहिले कुन दिन कसरी ट्रेनिङ गर्ने ? शरीर अनुसार कसरी ट्रेनिङ गर्ने ? सबै मिलाएर गरिरहेका अर्जुनले अहिले काठमाण्डौको गोकर्ण,तारेभीर,सुन्दरीजल र शिवपुरी लगायतका ट्रेलहरुमा ट्रेनिङ गर्ने गरेका छन्। अर्जुनको अन्तराष्ट्रिय रेस अनुभवको कुरा गर्ने हो भने पहिलो दौड वल्र्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप अस्ट्रियामा थियो । ८६ किलोमिटरको उक्त दौडमा १७,३२६ जना खेलाडी मध्ये उनले पचासौं स्थान ओगट्न सफल भएका थिए।

अन्तराष्ट्रिय जगतमा पहिलो दौड अनुभव भएकोले हुन सक्छ सुरुमा उनि केहि आत्तिएका थिए तरपनि उनले दौड पुरा गरेरै छाडे। वल्र्ड च्याम्पियनसिपमा अर्जुनले नेपालमा खेलेका विभिन्न खेलहरु भन्दा केहि फरक किसिमका अनुभव लिएका थिए। जम्मा ८६ किलोमिटरको दुरीमा रहेको वल्र्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप अर्जुनले करिब २१ किलोमिटरको दुरी पार गर्दै गर्दा उनको मसल्स क्रयाम्स भएको थियो। तरपनि अर्जुनले जसरी भएपनि दौड पुरा गर्नुपर्छ भनेर अठोट लिए अन्तत: पचासौं स्थानभित्र छिर्न सफल भएका थिए।

यसरी अस्ट्रियामा उनले धेरै कुराको अनुभव पाएका थिए। विदेशको खेलमा लामो दुरी र छोटो दुरीको छुट्टै रनिङ हुने रहेछ। खेलाडीहरुलाई प्राय क्लोज क्याम्प राखेर ट्रेनिङ गर्ने गर्दा रहेछन्। नेपालमा खासै त्यस्तो ट्रेनिङ सेन्टरको व्यवस्था रहेको छैन। बाहिर देशको जस्तो राम्रो तरिकाले ट्रेनिङ हुने हो भने अझ राम्रो स्थान ल्याउन सक्ने उनको दाबी छ। डब्ल्यु एमटी आर सी मार्फत सन् २०२३ मा अस्ट्रियामा भएको वल्र्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप पहिलोपटक खेलेका अर्जुन कुलुङ वल्र्ड च्याम्पियनसिप खेल्ने नेपालबाट पहिलो पुरुष खेलाडीको रुपमा समेत चिनिन्छ। यसपटक पनि स्पेनमा हुने वल्र्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप सन् २०२५ को सेप्टेम्बरमा अर्जुनले खेल्ने भएका छन्। झन्डै यो एघार वर्षको अवधिमा अर्जुनले नेपालभित्र र बाहिर गरेर करिब १०० भन्दा बढी खेल खेलिसकेका छन्। अल्ट्रा दौडबाटै उनले नेपालको नामलाई अन्तराष्ट्रिय स्तरमा चिनाइरहेका छन्।

धावक अर्जुन कुलुङले हालसम्म सयौंको संख्यामा स्वदेश तथा विदेशमा खेल खेलेर किर्तिमान कायम गरिसकेका छन् । र, थुप्रै ठाउँहरुमा खेलको उपाधि जित्न सफल भईसकेका छन्। जसमध्ये सन् २०२१ मा 100 माइलको मन्जुश्री ट्रेल रेस, सन् २०२१ मा ६६ किलोमिटरकाे सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेस त्यस्तैगरी सन् २०२२ मा १६० किलोमिटर अर्थात 100 माइलको मन्जुश्री ट्रेल रेस, सन् २०२२ मा ६२ किलोमिटरको Everest Extreme Ultra Marathon, सन् २०२२ मा ६० किलोमिटरको 7th Sindhupalchok International Trail Race, सन् २०२२ मा १४१ किलोमिटरको मनास्लु माउन्टेन ट्रेल रेस, सन् २०२३ मा ५० किलोमिटरको 5th Mountain Trail Race, सन् २०२३ मै पुन: ५५ किलोमिटरको पोखरा ट्रेल रेस Series Panchase,सन् २०२३ मा ५० किलोमिटरको Fistail Trail Race, सन् २०२४ मा Guerrilla Ultra Trail Race Marathon, सन् २०२४ मा Sailung Ultra Marathon,सन् २०२४ मा 100 माइलको मन्जुश्री ट्रेल रेस, सन् २०२४ मा ४७ किलोमिटरको एभरेस्ट भ्यु ट्रेल म्याराथन, सन् २०२४ मा 4th Annapurna Marathon त्यस्तै सन् २०२४ मै पुन: एभरेस्ट म्याराथन, सन् २०२५ मा सात प्रदेश सात दिन सात म्याराथन च्यालेन्ज, सन् २०२५ मा हङकङ भू.पु. ग्लोबल Lantall, सन् २०२५ मा 100 माइलको मन्जुश्री ट्रेल रेस र सन् २०२५ मै Backyard Ultra Position लगायत २० वटा भन्दा बढी खेलहरुमा अर्जुनले उपाधि जित्न सफल भएका छन्।

अर्जुन कुलुङले नेपाल बाहेक अन्तराष्ट्रिय स्तरमा थुप्रै खेलहरु खेलिसकेका छन्। सन् २०२३ मा अस्ट्रियामा ८६ किलोमिटर वल्र्ड माउन्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप Innsbruck – Stubai – Trail खेलेका थिए भने सन् २०२३ मै स्पेनमा ३२ किलोमिटरको Vald’Aran(बल्ड्रन) by UTMB खेलेका थिए।
त्यस्तै सन् २०२३ मा १०० किलोमिटरको द नर्थ फेस अल्ट्रा ट्रेल रेस च्यालेन्ज हङकङ खेलेका अर्जुनले सन् २०२४ मा १०० किलोमिटरको Hong Kong 100 Ultra Marathon खेलेका थिए। मलेसियामा सन् २०२४ मा एसिया ट्रेल मास्टर च्याम्पियनसिप,पोजिसन टीम च्याम्पियनसिप खेलिसकेका अर्जुनले सन् २०२५ मा hongkong मा सम्पन्न द नर्थ फेस १०० किलोमिटरको खेल खेलेर नेपालको नाम उच्च राखेका छन्।










प्रतिक्रिया