मुख्य खवर

कोरोनालाई बेवास्ता गर्दै असनमा बढ्यो भीड



राजधानीका अतिव्यस्त बजार असन, इन्द्रचोकमा कोरोनाभाइरस महामारीलाई बेवास्ता गर्दै सामान किन्न जानेको भीड लागेको छ । तिहारका लागि सबै किसिमका सामान पाइने यी बजारमा मानिसको भीड बढेसँगै व्यापारीहरूले सडकमै टेबल र खाट राखेर बाटो अवरुद्ध हुने गरी सामान सजाएका छन् ।

सडकमै सामान राखेपछि हिँड्ने ठाउँ साँगुरिएका छन् । त्यही बाटोमा सकिनसकी ठूल्ठूला भारी बोकेर भरिया हिँडिरहेका हुन्छन् भने रिक्सा, साइकल र मोटरसाइकलको पनि ताँती उस्तै देखिन्छ । सामान किन्दै हिँड्नेहरूको पनि घुइँचो छ । यसले कोरोनाभाइरस विस्तारको उच्च जोखिम बढाएको स्वयं व्यापारी बताउँछन् ।

सडकमा सामान राखेर बाटो अवरुद्ध गरेका व्यापारी पनि भीडले कोरोनाको जोखिम बढे पनि स्थानीय तहले बेवास्ता गरेको बताइरहेका थिए । ‘मान्छेले कुरै बुझ्दैनन्, मास्क पनि नाकमुनि लगाएको हुन्छ,’ असनका एक भाँडा व्यापारीले भने, ‘पसलमा पनि मास्क नलगाई छिरिदिन्छन्, साह्रै जोखिम भो, वडा कार्यालयलाई पनि मतलब छैन ।’

उनका कुरा नजिकैबाट सुनिएरहेका एक जनालाई चित्त बुझेनछ । उनले ठूल्ठूलो स्वरमा भनिहाले, ‘तपाईंले नै सडकमा सामान निकाल्नुभा’छ, हिँड्नै नमिल्ने गरी सडकमा सामान राखेपछि भीड बढ्दैन त !‘सबैले राखेपछि हामीले चाहिँ किन नराख्ने नि !’ उनले पनि जवाफ फर्काइहाले ।

असनको यो दशा नयाँ होइन तर यसपटक कोरोना महामारी बढ्न सक्ने सन्त्रासका बीच भीडभाड नियन्त्रणका लागि खासै पहल भएको देखिँदैन । यसले असनबाटै कोरोना अझै विस्फोट हुन सक्ने खतरा बढाएको त्यहीँका व्यापारी बताउँछन् ।
सडटअगाडि सडकमै टेबल ।

वडा कार्यालय के भन्छन् ?

असन र इन्द्रचोक काठमाडौँ महानगरपालिका वडा नम्बर २५ र २७ बढी पर्छ । यी दुवै वडाका अध्यक्षहरू आफूहरूले पटक–पटक आग्रह गरे पनि व्यापारीले नमानेको बताउँछन् । ‘हामीले कति भन्ने ? भएभरका व्यवसायी रिसाउने स्थिति आइसक्यो,’ वडा नम्बर २५ का अध्यक्ष नीलकाजी शाक्य भन्छन्, ‘यहाँ कोही मान्न तयार छैन ।’

कोरोनाका कारण लामो समय पसल बन्द गर्नुपरेकाले तिहारको बेला केही नभन्न उनीहरूले वडा कार्यालयलाई आग्रह गरेका छन् । ‘हामीले चार–पाँच महिना पसल बन्द गरेका बसेका थिएनौँ र !’ व्यवसायीको भनाइ उद्धृत गर्दै अध्यक्ष शाक्यले भने, ‘तिहारमा त अलिअलि व्यापार गर्न दिनुस् न !’

वडा नम्बर २७ का अध्यक्ष चिनियामान बज्राचार्य पनि व्यापारीहरूले जति भने पनि नमानेर सडकमै पसल निकालेको बताउँछन् । ‘जोखिम अन्यन्तै छ, विगतमा जस्तो भए चाडपर्वको समयमा चार–पाँच दिन सडकमै राखेर पनि व्यवसाय गरे केही थिएन,’ उनी भन्छन्, ‘यसपटक जोखिम उच्च छ, भीड बढ्ने गरी सडक नै अवरुद्ध गरेर सामान नराख्नुस् न भन्दा पनि मानेनन् ।’
सडकमै खाट र टेबल राखेर फिँजाइएको सामान ।

‘मिलेमतोमै राख्छन्, केही गर्न सकिन्न’

काठमाडौँ महानगर प्रहरीले पनि निरीहता देखाएको छ । महानगर प्रहरी प्रमुख धनपति सापकोटा वडादेखि स्थानीय क्लब र व्यापारीसम्म मिलेर सडकमा पसल निकालिएकाले केही नसकिने बताउँछन् । ‘हामी त्यहाँ गएर, नगएर केही हुनेवाला छैन,’ उनले भने, ‘हटाउन सम्भव नै छैन, त्यहाँका वडा, क्लब र समितिकै कारण सडकमा सामान निस्किएको हो ।’

केही व्यवसायीले नगर प्रहरीले नगरेजस्तो देखे पनि सडकमा सामान राखिएको विषयमा बेवास्ता गर्नुपर्दा अधिकांश व्यवसायी दंग देखिएका प्रमुख सापकोटा बताउँछन् । ‘अझ काग तिहारदेखि त विशाल बजारतिरको कालोपत्रेमै पसल निस्किन्छन्,’ उनले भने, ‘भएभरका व्यापारीले सडकमा पसल निकाले पनि हामी मात्रैले कन्ट्रोल गर्नसक्ने भन्ने सम्भावना नै रहँदैन ।’ यसमा ग्राहक पनि सचेत हुनुपर्ने उनले बताए ।
पर्किङ पनि सडकमै ।

‘क्लबको मनोमानी’

सडकमा सामान निकालिनुमा क्बल दोषी रहेको केही व्यापारी बताउँछन् । असन, बालकुमारीमा भाँडा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले असन सेवा समिति र मच्छिन्द्र क्बलले राति-राति व्यवसायीबाट पैसा उठाएर सडकमा सामान राख्न ‘अनुमति’ प्रदान गर्ने गरेको आरोप लगाए ।

‘क्लबकै कारण असन, इन्द्रचोक सधैँ यस्तै कचेडा भइरहने स्थिति छ,’ उनले भने, ‘काग तिहारदेखि राख्न दिएको भए खास फरक पर्ने थिएन होला, कात्तिक १५ देखि नै सडकमा सामान राखेर सडक अवरुद्ध गर्ने काम भइरहेको छ, तर कुनै निकायले पनि सडकमा सामान राख्न नदिन दबाब दिएको भेटिएन ।’

कोरोनाको उच्च जोखिम भएका बेला मानिसको भीड बढ्ने गरी सडकमै सामान निकाल्नुले संक्रमणको जोखिम थप बढाएको उनले बताए । ‘हामी दुई–चार जना व्यापारीले ननिकालेर केही हुने स्थिति छैन पनि,’ उनले भने, ‘सबैले सडक ढाक्ने गरी सामान निकालेपछि हामी पनि निकाल्न बाध्य भयौँ ।’

स्थानीय जनप्रतिनिधिका अनुसार मच्छिन्द्र क्लब र असन सेवा समिति स्थानीय व्यापारी व्यवसायीबाटै पैसा उठाएर चलेका छन् । ‘उनीहरूको आर्थिक आधार नै व्यापारी हुन्,’ वडा नम्बर २५ का अध्यक्ष शाक्यले भने, ‘चाडपर्व त यसै पनि कमाउने बेला नै भइहाल्यो ।’

‘असन जानेलाई पनि हाइसञ्चो’

यतिखेर विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण सबै ठप्प छ । युरोपका कतिपय देश र अमरिकालगायतका सर्वशक्तिमान मुलुकले कोरोना जित्न सकेका छैनन् । कतिपय देशमा दोस्रो चरणको लकडाउन सुरु भएको छ । कोरोना लाग्ने कतिपय मानिसले त्यसको पीडा कहिल्यै नभुल्ने खालको रहेको बताइरहेका छन् ।

तर, काठमाडौँको अतिव्यस्त बजार असन जानेहरू निष्फिक्री छन् । उनीहरूलाई कोरोनाको कुनै वास्ताबास्ता छैन । मानिस झुम्मिएका पसलमा अरु मानिस थपिइरहेका हुन्छन् । हरेक पसलमा मानिसको भीड छ । लाग्छ कि यो सामान्य अवस्था हो र कोरोना केही पनि होइन ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार ००:००