काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी गरिरहँदा उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको तयारीमा लागेका छन् । लामो प्रतीक्षापछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेका हुन् ।
ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ गते गरी दुई दिन हुने बुझिएको छ । यद्यपि भ्रमण लम्ब्याउने विषयमा दिल्ली–काठमाडौँबिच कुराकानी पनि चलिरहेको छ । भ्रमणकै सिलसिलामा भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ गते नेपाल आउनेछन् र उनैले भ्रमणको आधिकारिक निम्तो दिनुका साथै अन्य विषय पनि टुङ्ग्याउने बताइन्छ ।
जसरी प्रधानमन्त्री ओली लामो समयपछि भारतको भ्रमणमा जाँदै छन्, उता भारतीय समकक्षी मोदी पनि सात वर्षपछि चीन भ्रमणमा जान लागेका हुन् । यो भ्रमण प्रधानमन्त्री अोलीले गर्ने भारत भ्रमणभन्दा पहिले हुँदै छ ।
अर्थात् मोदी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीन भ्रमणमा जान लागेका हुन् । यो भनेको भदौ १५ गते हो । र मोदी चीनबाट फर्केपछि मात्र प्रधानमन्त्री ओली भारतमा जानेछन् । यता मोदीको चीन भ्रमणले नेपाललाई पनि फाइदा पुग्ने पूर्वराजदूत टंक कार्की बताउँछन् ।
भारत र चीन नेपालका छिमेकी देश भएकाले यी दुई देशको मित्रताले नेपाललाई पनि फाइदा पुग्छ, चीनका लागि नेपालका पूर्वराजदूत कार्की भन्छन् । साथै उनले चीन र भारतको सम्बन्ध राम्रो हुँदा त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने बताए ।
आर्थिक रूपमा सम्पन्न दुई देशको बिचमा नेपाल छ, जताबाट पनि फाइदा लिन सक्छ,ु कार्कीले भने,तर नेपाल त्यसमा चुकेको छ । यस्तै प्रधानमन्त्री ओली भारत भ्रमणमा जानु र मोदी पनि चीन भ्रमणमा जानुलाई अर्थपूर्ण रूपमा लिनुपर्ने कूटनीतिक मामिलाका एक जानकार बताउँछन् ।
पछिल्लो समय नेपाल र भारतको सम्बन्ध स्वस्थकर छैन, लामो प्रतीक्षापछि ओलीको भ्रमण हुन लागको छ, त्यसअघि मोदीले चीनको भ्रमण गर्नु ठुलो संकेत हो,’ उनले बताए । र मोदीले आफू चीन भ्रमणमा जानुअघि आफ्ना दूतका रूपमा विदेश सचिव मिश्रीलाई नेपाल पठाएर उच्चस्तरीय भेटघाट गर्न लगाउनू महत्त्वपूर्ण गरेको पनि उनी तर्क गर्छन् ।
अमेरिका र चीन भ्रमण गरिसकेका प्रधानमन्त्री ओली २०८१ मंसिर १७ गते चीन भ्रमणमा गएका थिए । भारतले भ्रमणका लागि निम्तो नदिएपछि ओली चीनतर्फ लागेका थिए । नेपालका कुनै पनि प्रधानमन्त्रीको पहिलो भ्रमण चीन हुनु नौलो विषय थियो, जुन ओलीकै पालमा सम्भव भयो ।
यसले पनि नेपाल–भारबिचको सम्बन्धमा चिसोपन थपिएको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन् । तर अब हुन लागेको ओलीको भारत भ्रमण नेपालबाट पछिल्लो समय भएको कूटनीतिक प्रयासका रूपमा धेरैले हेरेका छन् ।










प्रतिक्रिया