मुख्य खवर

लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ताले गरे र्‍याली,डेढ लाख मानिसहरू सहभागी



शनिबार लन्डनमा अति दक्षिणपन्थी कार्यकर्ता टमी रोबिन्सनले आयोजना गरेको र्‍यालीमा हिंसा भड्कियो । यस र्‍यालीमा करिब डेढ लाख मानिसहरू सहभागी भएका थिए । प्रहरीका अनुसार ‘युनाइट द किंगडम’ नाममा आयोजना गरिएको यस र्‍यालीमा केही मानिसहरूले प्रहरीमाथि बोतल र अरु सामान प्रहार गरेका थिए । यी आक्रमणमा २६ जना प्रहरी घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक एलन मस्कले भिडियो लिङ्क मार्फत ह्वाइटहलमा भेला भएका मानिसहरूलाई सम्बोधन गरेका थिए । अर्कोतर्फ, यस र्‍यालीको विरुद्ध ‘स्ट्यान्ड अप टु रेसिज्म’ले विरोध प्रदर्शनको आयोजना गरेका थिए । यसमा करिब ५ हजार मानिसहरू सहभागी थिए । प्रहरीका अनुसार, हालसम्म विभिन्न अपराध अन्तर्गत २५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले हिंसालाई पूर्ण रूपमा अस्वीकार्य भनेको छ ।

यस र्‍यालीलाई ध्यानमा राख्दै लन्डनमा भारी सुरक्षा व्यवस्था गरिएको थियो । रबिन्सनका समर्थकहरूलाई धपाउन प्रहरीले लाठीचार्ज गर्दा झडप भएको बताइएको छ । टमी रोबिन्सनको वास्तविक नाम स्टीफन याक्सली–लेनन हो । जनतालाई सम्बोधन गर्ने क्रममा उनले नेताहरूको आलोचना गरेका थिए ।

बेलायती अदालतहरूले कागजात नभएका आप्रवासीहरूको अधिकार स्थानीय समुदायको अधिकारभन्दा माथि रहेको फैसला गरेको पनि उनले बताए । गत महिना, अपिल अदालतले एसेक्सको एपिङस्थित द बेल होटलमा शरणार्थीहरूलाई राख्न प्रतिबन्ध लगाउने आदेशलाई अस्वीकार गरेको थियो ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार ००:००