गृह पृष्ठ

जेनजी आन्दोलनदेखि यी नेताहरू अझै भएनन् सार्वजनिक



काठमाडौँ, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक कोर्स बदलिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भैसकेको छ । जेनजीको विद्रोहले आतंकित काठमाडौँ उपत्यका अव बिस्तारै सामान्य अवस्थामा फर्किँदै गएपनि स्थिति पहिलेकै अवस्थामा भने पुगिसकेको छैन ।

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले गरेको विरोध प्रदर्शनमा केपी ओली सरकारले पहिलो दिन दमन गर्दा १९ जनाको ज्यान गएको थियो भने अहिलेसम्म आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७३ पुगिसकेको छ । जेनजीले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा राज्यको दमनपछि आक्रोशित भिडले दोस्रो दिन निजी तथा सरकारी सम्पत्तिमाथि आगजनी, तोडफोड र पार्टीका नेता तथा कार्यकर्तासहित उच्चपदस्थ कर्मचारीहरूलाई निशाना बनाएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री, मन्त्रीहरूलगायत उच्चपदस्थ अधिकारीहरूलाई नेपाली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा पुर्‍याएको थियो । पछिल्ला दिनमा जनजीवन सामान्य बन्दै गएपछि केही मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू बिस्तारै सार्वजनिक भएर आफ्ना गतिविधिहरू गर्न थालेका छन् ।

कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा तथा एमाले नेताहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगश भट्टराईहरू सार्वजनिक भैसकेका छन् । यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालगायतका नेताहरू पनि आफ्नो निवास तथा पार्टी कार्यालय पुग्ने गरिरहेका छन् । त्यसक्रममा उनीहरूले आफ्ना नेता कार्यकर्ताहरूलाई खरानीबाटै उठेर ध्वस्त संरचनाको पुनस्निर्माण गर्ने ढाडस दिइरहेका छन् ।
तर जनेजी आन्दोलन भएको १० दिनपछि पनि एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सभामुख देवराज घिमिरे, एमाले उपाध्यक्ष विष्णु पौडेल, तत्कालीन गृहमन्त्री समेत रहेका रमेश लेखक, कांग्रेस नेतृ आरजु राणालगायतका नेताहरू भने अझै सार्वजनिक भैसकेका छैनन् ।

जेनजी आन्दोलनको केन्द्रमा रहेका ओली र देउवा दम्पती अझै पनि सेनाको सुरक्षामा रहेको बताइएको छ । त्यस्तै पौडेल, लेखक, घिमिरे लगायतका नेताहरू भने नेपाल प्रहरीको सुरक्षामा रहेको बताइएको छ । आन्दोलनकारीले देउवा दम्पतीलाई आन्दोलनको दोस्रो दिन निजी निवास बुढानीलकण्ठमा आगजनी तोडफोड गर्नुका साथै हातपात समेत गरेका थिए ।

केही पूर्वप्रधानमन्त्री र मन्त्रीहरू आन्दोलनको झण्डै एकसाता पछि सार्वजनिक स्थानमा फर्किए पनि ओली र देउवा भने सेनाको सुरक्षामै रहेको उच्च स्रोतले जानकारी दिएको छ । देउवा दम्पती सेनाकै निगरानीमा उपचार गराइरुहेको बताइएको छ ।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले व्यक्तिका निजी निवाससहित राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए । राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमाथि आगजनी हुँदा ठुलो क्षति भएको थियो ।

भदौ २४ गते आन्दोलन उग्र हुँदै गएपछि नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएर सुरक्षित स्थानमा राखेको थियो । उनीहरूमध्ये धेरैलाई शिवपुरी, भैरवनाथ गण र नेपाल प्रहरीको मुख्यालयमा राखिएको पुर्‍याइएको थियो ।

सुरक्षा स्रोतका अनुसार ओली, देउवा, लेखकलगायतका नेताहरू अझै केही दिन सार्वजनिक नहुने बताइएको छ । दलहरूले भोलि अर्थात् असोज ३ गते मनाइने संविधान दिवसका दिन समेत ओली र देउवा सहभागी नहुने बताइएको छ । उनीहरूको अनुपस्थितिमा अन्य नेताहरूले संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरेका छन् ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार ००:००