गृह पृष्ठ

आन्दोलन र पर्दा पछाडिको ‘खेल’ मा कसरी मिल्यो ओली–प्रचण्डको बोली ?



काठमाडौँ, जेनजी आन्दोलनका क्रममा पर्दा पछाडि भएका घुसपैठ, षडयन्त्र, हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटबारे रहस्य खुल्दै जाने सङ्केत देखिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका तमाम घटना र षडयन्त्रबारे तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बोली लगभग मिल्दोजुल्दो देखिएको छ ।

तर, उनीहरूले कसले, कसरी र कस्तो षडयन्त्र गर्‍यो भन्ने अहिले नै खुलाउन चाहेका छैनन् । बरु उनीहरूले ती षडयन्त्रहरू समयक्रममा खुल्दै जाने भन्दै तत्कालीन अवस्थामा संविधान जोगाउनु नै सबैको प्रमुख जिम्मेवारी र कर्तव्य हुन पुगेको ठहर गरेका छन् ।

संविधान दिवसका दिन शुक्रबार एमाले अध्यक्षसमेत रहेका ओलीले लिखित अपिल जारी गर्दै शान्तिपूर्ण हुने भनिएको जेनजी आन्दोलनका क्रममा घुसपैठ गर्दै षडयन्त्रकारीहरूले हिंसा मच्चाएपछि युवाहरूको ज्यान गएको दाबी गरेका छन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले आन्दोलनका क्रममा प्रहरीसँग नै नभएका स्वचालित हतियारबाट गोली प्रहार भएको गम्भीर खुलासा गर्दै त्यसको समेत छानबिन गर्नुपर्ने माग अघि सारेका छन् ।

गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वानकर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो’, ओलीले भनेका छन्, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन । प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ ।’

उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमपछि आफूले रातभर नसुतेर समन्वय र सहजीकरण गरेकाले प्रतिनिधि सभा विघटन भए पनि अहिलेको संविधान जोगिएको खुलासा गरेका छन् ।

त्यतिमात्रै होइन, प्रचण्डले संविधान, संसद् र राष्ट्रपति संस्था नै नराख्ने षड्यन्त्र भएकोतर्फ संकेत गर्दै आफूले राष्ट्रपति, नेपाली सेना र राजनीतिक दलका नेताहरूसँग संवाद गरेर संविधान जोगाउन भूमिका निर्वाह गर्न सकेको दाबी गरेका छन् ।

‘जुन भयानक विध्वंस भयो– यो जेनजी, हाम्रो युवा पुस्ता, हाम्रा भाइबहिनीहरूको उद्देश्य थिएन’, प्रचण्डले भनेका छन्, ‘विध्वंसको व्याख्या नगरिकन म सिधै के भन्न चाहन्छु भने इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो ।’

प्रचण्डले संसद् विघटनमात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भए भन्ने कुरा आफूले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएको दाबीसमेत गरेका छन् । ‘मैले अन्तिममा हुनसक्ने जति सहजीकरण के हुन सक्छ भनेर रातभर बसेर, रातभर राष्ट्रपति, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेर अन्तरिम सरकारको रूप दिन सकिएको छ’, संविधान दिवसका दिन पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राष्ट्रपतिज्यूलाई म आज फेरि एकचोटि बधाई भन्न चाहन्छु ।’

एमाले अध्यक्ष ओलीले पनि संविधानमाथि ठुलो आक्रमण भएको बताएका छन् ।

यो पनि
संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा
संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको प्रचण्डको खुलासा
‘हामी यतिबेला हाम्रो संविधानमाथि ठुलो आक्रमण भएको अवस्थामा छौँ’, उनले आफूले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबार र नेपालको नक्सा जलाएर देशको निसानी मेटाउन खोजिएको आशंका गरेका छन् ।

‘जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ’, ओलीले यसका पछाडिको षड्यन्त्रबारे आज धेरै कुरा भन्दिनँ भन्दै थपेका छन्, ‘धेरै कुरा समयले आफैँ बयान दिनेछ ।’

अध्यक्ष ओलीले देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तारमात्रै गरिएको थियो भन्ने कुरा नयाँ पुस्ताले आफैँ महसुस गर्ने समेत बताए । विदेश जानेरआउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला भन्दै ओलीले यो पनि समयले महसुस गराउने र हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने बताएका छन् ।

‘तर, यो कुरा समय छँदै बुझ्नु पर्नेछ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ’, ओलीले भने । युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्ेको हुनुपर्ने भन्दै उनले देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रहेको यथार्थ स्मरण गराएका छन् ।

मुलुकको कठिन परिस्थितिमा सबै पुस्ताका नेपाली एकजुट हुनु पर्ने आवश्यकतालाई जोड दिँदै ओलीले सार्वभौम सत्तामाथि गरिएको प्रहार सामना गर्न र संविधानको रक्षा गर्नुपर्ने प्रमुख दायित्व भएको पनि स्मरण गराएका छन् ।

‘सार्वभौम सत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो’, ओलीले अपिल गर्दै भनेका छन्, ‘हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ । संविधान जोगाऔँ, सार्वभौम सत्ताको रक्षा गरौँ ।’

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ भएकोमा प्रचण्ड पनि सहमत देखिन्छन् । ‘२४ गते जे भयो, त्यो जेनजीको आदर्श, घोषित नीति र मागभन्दा बाहिर त्यहाँ कहीँ न कहीँ भयानक घुसपैठ भनौँ या भयानक डिजाइनमा विध्वंसहरू मच्चाइयो’, प्रचण्डले भनेका छन् । सच्चा जेनजी प्रतिनिधिहरूले ‘यसो नगरौँ, आगजनी र तोडफोड नगरौँ’ भनेको आफूले सुनेको पनि उनको भनाइ छ ।

जेनजी आन्दोलनप्रति, जेनजीका युवाहरूले विकृति, विसङ्गति, भ्रष्टाचार, सबै खालका विकृतिविरुद्ध जेनजी आन्दोलनप्रति आफूलाई गर्व लागेको प्रचण्डको भनाइ छ ।

प्रकाशित : ३ आश्विन २०८२, शुक्रबार ००:००