मुख्य खवर

थुलुङ दुधकोशी गाउँपालिकामा कृषक पोषण पाठशालाको शुभारम्भ



थुलुङ दुधकोशी गाउँपालिकामा कृषक पोषण पाठशालाको शुभारम्भ गरिएको छ । दिगो जलवायुमैत्री र पोषण संवेदनशील कृषि उत्पादन प्रणालीको अवलम्बन गर्दै पोषणयुक्त बालीहरूको घरेलु उपलब्धता वृद्धि तथा कृषक परिवारहरूको खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने उद्देश्यसहित थुलुङ दुधकोशी गाउँपालिकामा कृषक पोषण पाठशालाको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. ६ मुक्लीस्थित देम्कुमा स्थापित सो पाठशालाको उद्घाटन गाउँपालिका अध्यक्ष असिम राईले हिजो विधिवत रूपमा गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष राईले स्थानीयस्तरमा पोषणयुक्त बालीहरूको उत्पादन, उपभोग र जीवनशैली सुधार गर्न यस्ता कार्यक्रमहरूको महत्व उल्लेख गर्नुभयो।

उहाँले दिगो कृषि अभ्यासले मात्र दीर्घकालीन खाद्य सुरक्षासहित पोषण सुधार सम्भव हुने भन्दै कृषकहरूलाई यस पाठशालाबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। सो अवसरमा अध्यक्ष राईले रैथाने तथा स्थानीय कृषि उपजहरूको संरक्षण, उत्पादन र सदुपयोग गर्दै आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै, कृषकहरूले उत्पादन गरेका उपजहरूको आत्मनिर्भर खपत मात्र नभई आवश्यक परे बजारसम्म पु–याउन गाउँपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।

पाठशालामा सहभागी कृषकहरूले पोषणसम्बन्धी व्यवहारिक ज्ञान, स्वस्थ आनीबानी तथा जलवायु अनुकूल कृषि अभ्यासका बारेमा प्रशिक्षण पाउनेछन्। यसले कृषक परिवारहरूलाई मात्र नभई स्थानीय समुदायको सम्पूर्ण खाद्य तथा पोषण सुरक्षामा दीर्घकालीन योगदान पु¥याउने अपेक्षा गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी दिनहरूमा अन्य वडाहरूमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको जनाएको छ।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार ००:००