काठमाडौं, प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
आकस्मिक समयमा बोल्दै उनले नेपाली भू-भाग कालापानी र लिपुलेक हुँदै छिमेकी राष्ट्रहरुले सीमा व्यापार गर्ने विषयमा भएको सहमतिका विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
मुख्य सचेतक बर्तौलाले परराष्ट्र मन्त्रालयमार्फत भारत-चीनका विदेशमन्त्रीबीच बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको धारणामा लिपुलेक र कालापानीको भूमि हुँदै सीमा व्यापार गर्ने कुराप्रति गम्भीर ध्यानाकर्षणसमेत गराए।
“भूगोल, अर्थतन्त्र, जनसङ्ख्यामा देशहरु सानो ठूलो हुनसक्छ तर नेपाल सार्वभौमसत्ता सम्पन्न मुुलुक हो”, उनले भने, “देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा कसैबाट आघात हुने काम भएको सहन सक्दैनौं।”
उनले नेपालको भूमिमाथि नेपालको सहभागिता, स्वीकृति र जानकारीबिना दुई देशका विदेशमन्त्रीस्तरीय बैठकले सीमा व्यापार गर्ने विषयमा भएको सम्झौताको नेकपा ९एमाले० संसदीय दलको तर्फबाट गम्भीर विरोध र असहमति जनाए।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनले नेपाली भूमिको बारेमा नेपालको अनुस्थितिमा गरेको सम्झौताप्रति गम्भीर असहमति जनाए। उनले भारत र चीनबीच भएको पछिल्लो सहमति आपत्तिजनक र अस्विकार्य रहेको बताएका हुन्।
उनले भने,‘हाम्रा दुई छिमेकीहरु भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीले पढ्यौं, सुन्यौं र जान्यौं। नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीहरुले गरेको व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ। अस्वीकार्य छ। नेपाल सरकारले यसका सम्बन्धमा जुन पहल गरेको छ, सबैलाई समेटेर अगाडि बढाओस्। हामी यसका निम्ति आग्रह गर्न पनि चाहन्छौं।’
यस विषयमा आफ्ना पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको ६ बुँदे सुझावलाई पनि ग्रहण गर्न थापाले सरकारको ध्यानाकार्षण गराए। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लिपुलेक नाकालाई व्यापारका लागि प्रयोग गर्ने भारत-चीनबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै सरकारको धारणा माग गरेको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भारत र चीनबीच भएको भनिएको सहमतिपछि सरकारको कदमबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।
यस्तो विषयमा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता र अखण्डताको रक्षा र नेपालको हितको पक्षमा एकजुट हुनको लागि उनले आह्वान समेत गरे। उनले कुटनीतिक तवरबाट यस बिषयमा वार्ता अघि बढाउन समेत आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले लिपुलेक र कालापानीको भू(भाग छिमेकी राष्ट्रले प्रयोग गर्ने विषय गम्भीर भएकाले त्यस विषयमा सरकारले गम्भीर भएर देशको रक्षा गर्नुपर्नेमा जोड दिए।
उनले मानव तस्करीजस्तो गम्भीर विषय आउँदा ठूला पार्टीले गम्भीरतापूर्वक नलिएको उल्लेख गर्दै रास्वपाले स्वतन्त्र छानबिन समिति गठन गर्न अनुरोध गर्दा नगरेको र अहिले उपसभामुख माथि प्रहार गर्न खोजेको आरोप लगाए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धु्रव्रबहादुर प्रधानले भिजिट भिसामा जाने व्यक्तिका विषयमा न्यायिक छानबिन गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे।










प्रतिक्रिया