गृह पृष्ठ

दिल्लीमा मोमोको २० रुपैयाँको विवादमा नेपाली युवकलाई छुरा प्रहार



काठमाडौँ, भारतको राजधानी नयाँ दिल्लीमा मोमोको २० रुपैयाँको विवादका कारण एक नेपाली युवकलाई तीन जना किशोरहरूले छुरा प्रहार गरेका छन् । पूर्वी दिल्लीको गाजीपुर थानाअन्तर्गत पर्ने राजवीर कोलोनी क्षेत्रमा यो घटना भएको हो ।

घाइते हुनेमा खोडा कोलोनीमा बसोबास गर्ने र नेपालका तुलबहादुर रहेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । स्थानीय प्रहरीका अनुसार, तुलबहादुरले मोमोको २० रुपैयाँ माग्दा किशोरहरूले तिर्न अस्वीकार गरेपछि झगडा भएको थियो । विवादकै क्रममा उनीहरू मध्ये तीन जनाले तुलबहादुरको छातीमा छुरा प्रहार गरेका हुन् ।

घाइते तुलबहादुरलाई स्थानीयवासीले तत्काल लालबहादुर शास्त्री अस्पताल पुर्‍याएका थिए । त्यहाँका चिकित्सकहरूले अवस्था गम्भीर देखिएपछि उनलाई ट्रमा सेन्टर रिफर गरेका थिए । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । गाजीपुर प्रहरीले घटनामा संलग्न तीनै किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित : ७ भाद्र २०८२, शनिबार ००:००