काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक बहसलाई वैचारिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले अहिलेको बहस व्यक्ति केन्द्रित बनेको भन्दै त्यसलाई विचार केन्द्रित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले पुस्तान्तरण त अपरिहार्य भए पनि विचारसहितको पुस्तान्तरण आजको मुख्य आवश्यकता भएको बताए । भट्टराईले राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहका नातिलाई अघि सारेको उदाहरण दिँदै, केवल पुस्तान्तरणले मात्र समाधान नहुने उल्लेख गरे ।
उनले भने, “पुस्तान्तरण हुनु त पर्छ तर विचारसहितको पुस्तान्तरण हुनुपर्छ । राजावादीहरूले त नातिलाई समातेर जुम्ला घुमाए नि । त्यस्तो पुस्तान्तरण होइन, नयाँ विचारसहितको नयाँ पुस्ता चाहिन्छ ।”
नेपाल जस्तो भूराजनीतिक चेपुवामा परेको, विविधतायुक्त र आर्थिक–सामाजिक रूपमा पछाडि परेको देशलाई अगाडि बढाउन छिटो आर्थिक विकास, सामाजिक न्याय र राष्ट्रिय एकताको लागि लेफ्ट अफ सेन्टर डेमोक्रेटिक फोर्स आवश्यक भएको उनको भनाइ छ । अन्त्यमा भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको प्रष्ट पार्दै, सबैलाई न्यायको प्रत्याभूति दिलाउने दिशामा नयाँ पुस्ताले अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया