ताजा घटना

भरतपुर अस्पतालको आकस्मिक कक्ष, अब्जरभेसन, स्टोरमा जलमग्न



चितवन ,भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ । अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् ।

चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।

चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो । ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन् ।

पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ । लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन् । भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन् ।

प्रकाशित : ९ आश्विन २०७७, शुक्रबार ००:००