ताजा घटना

वामपन्थी नेता खम्बसिंह कुँवरको भरतपुर अस्पतालमा निधन



चितवन चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो । २०११ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका कुँवरले २०२२ सालदेखि आफ्नै नेतृत्वमा चितवनबाट प्रगतिशिल पार्टीको सुरुवात गरेका थिए । पछिल्लो समय उनी नेकपाको केन्द्रीय सल्लाहाकारसमेत थिए ।

कुँवरको शव भरतपुर–६ केशरबागमा रहेको निवासमा लगेपछि आजै अन्तिम श्रद्धाञ्जलीका लागि साविक माओवादी केन्द्रको पार्टी कार्यालय कृष्णपुरमा राखिने छ । कुँवरको अन्तिम संस्कारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आउने कार्यक्रम छ । प्रचण्डले उनलाई राजनीतिक गुरु मान्दै आएका छन् ।

प्रकाशित : १३ माघ २०७७, मंगलबार ००:००